14-Dec-2019 | २८ मंसिर २०७६, शनिबार

भुगोल सरको थोत्रे साइकल

४ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


माधव अधिकारी / दक्षिण कोरिया

अनि देशका लागि के गर्यौ त ?

दक्षिण कोरियाको सियोलमा एउटा रेष्टुरेन्टमा पलेँटी कसेर बसिरहँदा 

साथीहरु बीचमा कुरा हुन्छ

सिमा बिवाद अहिले चर्चामा छ,

अनि बिभिन्न ह्याशट्याग र स्टाटसको बाढीपहिरो आउँछ । 

तर फेरि प्रश्न ज्यूँ का त्यूँ, 

सिमा जोगाउन के गर्यौ त ?

बलभद्र कुँवर या भक्ति थापा जस्तो लड्न जाने सार्मथ्य नभएको हो या समय परिवर्तन भएको हो ? 

प्रोक्सी वार शुरु भएको छ अनि अब देशप्रेम अनि एैक्यवद्धताका लागि हामीले के गर्ने त ?

सुयोग ढकालका लेख अनि सांस्कृतिक अन्वेषणहरु हाम्रो पात्रोमार्फत एक यूगदेखि नेपालीहरुले पढि आएका छन् । 

हाम्रो पात्रो एउटा झ्यालजस्तो लाग्दछ, बिदेशमा बस्दा नेपाल नियाल्ने र बाँच्ने झ्याल, 

देशका चाडवाड मिस गरिरहेको बेला त्यहाँका शव्दहरु, ब्याख्या अनि भावनाहरुले हामीलाई नेपालको नोस्टाल्जीया पूनर्जागृत गरिदिने ठाउँ । 

गाँउमा हुँदा स्कुल पढ्दाको समयमा हामीले यिनलाई एउटा आवाजका रुपमा अनि साथीका स्वरुपमा साथीसंग मनका कुरा कार्यक्रममा पनि सुनेका थियौं, 

परदेशमा रहेका नेपालीहरुमा देशका चाडपर्वहरुको बाक्लो संझना दिलाउने लेखक यिनै हुन् ।

देशका लागि आवाज हुनेहरु आवाज लिएर उठ भनें झैं 

अहिले सुयोग ढकालका केही भिडियोहरु नेपाली देशप्रेम सम्बन्धित आउन थालेका छन्, 

म फेसबुकमार्फत ति भिडियोहरु हेर्दछु । सामान्यतया म अरुका कविताहरु फेरि लेख्दिन तर यो कविता भुगोल सरको कविता चाँही लेख्छु;

 

“भूगोल सरको थोत्रो खुइलिएको साइकल”

 

यो एकादेशको किस्सा हो जुन आज भन्न जरुरी छ;

भूगोल सरको रंग खुइलेको थोत्रो साइकल झैं

मेरो देशको अवस्था पनि जिर्ण रहेछ

हामीलाई भनें सरले नेपालको नक्शा बनाउन सिकाइरहे

बनाएको नक्शाको सिमालाई जोगाउने कसरी कसैले सिकाएनन्

स्कुलमा राष्ट्रगान गाँउदा

शिर ठाडो पार्न सिकाए

तर बास्तविक जिवनमा सबैजना मिलेर

मेरो शिरको उँचाई धरौटी राखिसकेका रहेछन्

 

मैले देशलाई माया गर्न के गरिन ?

राजाको जन्मदिनमा बिहानै उठेर

नुहाएर भगवानलाई झैं फुल टिपिन कि?

माओवादीले स्कुलवाटै लाँदा

बाटामा बन्दुक बोकिन कि, लाल सलाम भनिन कि?

अरु त अरु ६२/६३ को आन्दोलनमा टियर ग्याँसलाई रुमालले छोप्दै

ड्रममाथि बसेर कविता भनिन कि ?

मैले श्रीमान गम्भीर पनि गाँए

गाँउछ गीत नेपाली पनि गाँए

त्यसपछि सैयौं थुंगा फुलका आयो, मैले स्कुल छाडिसकेको थिए

 

देश बनाउने सपना देखाएर मलाई शासन गर्नेहरु

मैले र मेरा साथीहरुले आन्दोलनमा

बाटामा छाडेर, हराएर हिँडेका लाखौं चप्पलहरुका फेरिहिस्त छ तिमीहरुसंग ?

महलमा बस्नेलाई साना कुराहरु संझना हुन्न रे तर सुन;

आन्दोलनमा चप्पल छाडेका साथीहरु त्यसपछि बिदेश गए

पसिनासंग पैसो साट्दै

आँसु पुछ्दै नुन चाट्दै

नेपालमा पसिनाको भाउ नपाएपछि उनीहरु हिँडे

ति चप्पल तिनिहरुले यहाँ छाडेका सपनाहरु थिए

हरियो पासपोर्टमा म्यानपावरको स्टीकर टाँसिएझैं

उनीहरुको जिवन र जिवीकोपार्जन अब बिदेशमा टाँसिएको छ

चैते दशैंमा गाँउमा काटिएको खसीको मासु भाग लगाए झैं

तिमीहरुले आफन्तका लागि पद र पावर भाग लगाँउदै गर्दा

मेरा साथीहरु पसिना बगाँउदै बिदेशमा

हरेक महिना रेमिट्यान्समा गएर घरखर्च गन्दछन्

अनि भाग लगाँउदछन् अर्को महिना कति छाक काटेर

कति बढि पठाउने अनि नपठाउने

 

संसारमा धेरै पीडाहरु छन्

आमा बन्दाको पीडा, आमा बुवा नबन्दाको पीडा

घाउ लाग्दाको पीडा, ओखती नपाँउदाको पीडा

खोला नहुँदाको पीडा, बाढी आँउदाको पीडा

उनले छाडेर जाँदाको पीडा, उनी साथ हुँदाको पीडा

चुरोट नपाँउदाको पीडा अनि खोकी लाग्दाको पीडा

यी सबै पीडाहरु एकतर्फ एउटा बोरामा कसेर राख

अनि अर्को बोरामा देशको सिमाना मिचिँदाको पीडा राख

देशको सिमाना मिचिँदाको उकुसमुकुस कैयौं गुणा बढि हुनेरहेछ

भोली तिम्रा सन्ततीले लिपुलेक, कालापानी र लिपियाधुराको बारेमा सोद्धा

के तिमी ठूलो स्वरले बन्दे मातरम भन्ने हौ र ?

म त सक्दिन हेर साथी

जब आउने पुस्ताले मसंग सिमाको बारेमा सोध्नेछ

मलाई त बिस्मात र ग्लानी दुबै हुनेवाला छ

साथमा केहि किलोग्राम लज्जा पनि

कि मैले माटो जोगाउन सकिन

आमालाई दाइजोमा दिएको दराज भित्रको

मेरो बच्पनको नागाें फोटो

एकदिन सगिंताले देखिछ

त्यसपछि यस्तो लाज लाग्यो कि

फोटो च्यातेर बारीमा बालेर

संगितासंग आजसम्म एकशव्द बोल्न सकेको छैन

अब सिमा बुच्चिएको देश आउने पुस्तालाई दिँदा

त्यस्तै त्यस्तै केहि हुनेछ

त्यो लज्जाले मलाई पगाल्दिन्छ

नौनी पग्लेर घ्यू भए झैं

नौनीको अस्तित्व केवल बिलौनीका केही तरहरुमा मात्र बाँकी हुनेछ

अनि म लाजले बिलौनी झैं शायद बिलाउने छु

देश सानो भएर कोही कमजोर हुँदैन

देश गरिब भएर कोही कमजोर हुँदैन

आवाज रहुन्जेल, शव्द कोरिउन्जेल

अनि सगरमाथाको छायाँ रहुन्जेल

तिमीहामी सबै बलियो छौं, आफूमा बिश्वास गरेमा

तर अझै पनि तिमी आफूलाई कमजोर ठान्दछौ भनें

हो तिमी कमजोर हौ किनभनें

किनभनें तिमीमा अलिनो खाने साहस छैन

तिमीसंग साइकल चढ्ने साहस छैन

किनभनें तिम्रा लागि देशभन्दा भेश ठूलो कुरा हो

किनभनें तिमीले भूगोल र ईतिहास पढेनौं

या पढेर पनि भूलिदियौ

तिमी मुला भुल्न खप्पीस छौ नि

तिमीले के भुलेनौं ?

टिस्टा, काँगडा सर्लक्क भुलेका हैनौं ?

अरु त अरु तिमीले ठड्याएका फितला घरहरु देख्दा

तिमीले त भुकम्प पनि भुलेछौ

नाकाबन्धी भुलेर तिमीले स्वाभिमानलाई कोशीको पानीमा

यसरी बगायौ कि मानौं कागजको ढुगांलाई बच्पनमा मैले बगाँए

भूगोल सरको साइकल पुरानो थियो

घन्टी बाहेक सबै कुरा बज्थ्यो

तर सरको शिरको टोपी चटक्क सर्लक्क हिमाल झैं

मैले हावाजहाज, पानीजहाज, गाडी, भटभटे धेरै चँढे

बिदेश स्वदेश बेफ्वाँकले डुलेँ

आधा विश्व डुलिसक्दा पनि

मैले भूगोल सरजस्तो मान्छे भट्न सकिन

उन्को साइकलजस्तो खुइलिएर पनि राम्रो

अनि स्वाभिमानी सवारी कहिँ देखिन

सरले सिकाएको नक्शामा म थोरै थप्ने अनुमति माग्छु

त्यसमा कालापानी, लिपुलेक र लम्पीयाधुरा पनि थप्नेछु

सरले धर्ती छाडेको दिन

मैले अलिनो आएको थिँए

सरको साइकल खोज्दै म गाँउ जाँदैछु

यदि भुजियावालासंग साटिएको छैन भनें

म त्यो साइकललाई राजधानी खाल्डोमा ल्याउने छु

अनि माइतिघरमा ठूलो बाँसको खम्बा गाडेर

त्यस साइकललाई अनन्तकालसम्म हुने गरि

झुण्ड्याइदिनेछु

दुनिँयाले थाहा पाओस्

सबै जिर्ण र कमजोर कुराहरु

महत्वहिन हुन्न ॥

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार