रोचक खवर

सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल

काठमाडौं । बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ खाइसकेपछि करीव १२ बजे अपरान्हदेखि सिंहदरबार छिर्न शुरु गरे ।

सबै जसो मन्त्रालयमा सचिवदेखि उच्च पदस्थ अधिकारीहरु फूलको थुंगासहित नयाँ मन्त्रीहरुको स्वागतमा तम्तयार थिए । कर्मचारीहरु लाइनमा बसेर मन्त्रीको स्वागतमा खटिएका थिए ।

मन्त्रीहरु प्रवेश गर्न लागे । त्यसबेला मन्त्रालयमा छुट्टै माहौल छाएको थियो । कृषि मन्त्री घनश्याम भुषाललाई शूभकामना दिन निर्वतमान मन्त्री चक्रपाणी खनाल मन्त्रीको कार्यकक्षमै पुगेका थिए ।

उनीहरुले एक अर्कालाई अंकमाल गरे । घनश्यामले चक्रपाणीले अगाडी बढाएका आयोजनालाई निरन्तरता दिने भन्दै राम्रा कामको जस मिलेर लिने बताए ।

श्रममन्त्री रामेश्वर राय मन्त्रालय आउने केही ढिला गरे । यता, मन्त्रालयमा भने निवर्तमान मन्त्री गोकर्ण विष्टको बिदाई कार्यक्रम चलिरहेको थियो ।

जब मन्त्री राय आए, त्यसपछि विष्टले बधाई तथा सफलताको शुभकामना दिए । उनी सरासर मन्त्रालय परिसरबाट निस्केर सिंहदरबारको गेटमा पुगे ।

गुडिरहेको ट्याक्सी रोके र घरतर्फ लागे । यो दृष्य आज दिनभर सामाजिक संजाल तथा संचारमाध्यममा छाइरह्यो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा समेत निवर्तमान मन्त्री थममाया थापा पुगिन् र नवनिुक्त मन्त्री पार्वत गुरुंगलाई शुभकामना दिइन् ।

सामान्य प्रशसन तथा संघीय मामला मन्त्री हृदयेश त्रिपाठीको स्वागतमा निकै ठूलो लाइन लागेको थियो । उद्योग राज्यमन्त्री मोतिलाल दुगड श्रीमतीसहित मन्त्रालय पुगेका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरे । उनी निकै प्रफूल्ल देखिन्थे । भौतिक मन्त्रालयमा निवर्तमान मन्त्री रघुविर महासेठ पुगी नवनियुक्त मन्त्री बसन्त नेम्वांगलाई शूभकामना दिए ।