फिचर

टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने

काठमाडौं । टुँडिखेल अतिक्रमण हटाउन माग गर्दै खुला पार्क बनाउन दवाव दिने उद्देश्यले शुरु भएको अकुपाई टुँडिखेल अन्तर्गत शनिबार साहित्यिक जमघट हुँदैछ ।

हरेक शनिबार दवावमुलुक कार्यक्रमअन्तर्गत शनिबार तेस्रो साताको कार्यक्रम आयोजना हुँदैछ । टुँडिखेलस्थित खरी बोटमा बिहान ८ बजेबाट कार्यक्रम शुरु गर्ने कार्यतालिका राखिएको छ ।

जहाँ ३२ जना कविले चेतनामुलक कविता वाचन गर्ने कार्यक्रम राखिएको छ । दुर्गालाल श्रेष्ठ, देवी नेपाल, रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई, श्रवण मुकारूङ, विप्लव प्रतीक, विप्लव ढकाल, नवराज पराजुली, रञ्जु दाहाल, बलराम दाहाल, रूपक अलंकार, आनन्दसिद्धि तुलाधर, भोला बराललगायत कविले सहभागिता जनाउने भएका छन् ।

आयोजकका अनुसार विष्णुकुमार सिंजाली, विजय बलम्ताली, सोम धिमाल, निरज दाहाल, प्रज्ज्वल अधिकारी, असीम सागर, रशिक राज, अच्यूत घिमिरे, रूपा जोशी, स्नेह सायमी, अरूना पन्त, रुपेश श्रेष्ठ, सरिता आचार्य, प्रकाश अमात्य, दिव्या ताम्राकार, रोनिका श्रेष्ठ, कोषराज न्यौपाने र रमिता बज्राचार्यको पनि सहभागिता हुने भएको छ ।

संरक्षण अभियन्ताको पहलमा यो कार्यक्रम प्रारम्भ भएको हो । रानीपोखरीदेखि रंगशालासम्म फैलिएको विशाल टुँडिखेललाई सरकारी निकायले नै अतिक्रमण गरेपछि यसको आकार खुम्चिएको छ ।

यसबीचमा नेपाली सेना र महानगरले हालिमुहाली गरिरहेका छन् । यसमा सरकारले कुनै ध्यान दिन सकेको छैन ।