फिचर

विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको प्रारम्भिक तथ्यांक अनुसार मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको आभाष भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामै ४ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आइसकेको छ ।

यो रकम अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा १ सय ५९ प्रतिशतले बढी हो । गत आवमा १ अर्ब ५४ करोड रुपैयाँमात्र विदेशी लगानी आएको तथ्यांक छ ।

यसबीचमा मुलुकको लगानीयोग्य वातावरणमा सुधार आएको जनाउ दिने गरी डुइङ विजनेश रिपोर्टमा प्रगति देखिएको छ ।

सरकारले कतिपय नीतिगत सुधारमा समेत ध्यान दिएका कारण विदेशी लगानीकर्ताहरु क्रमशः नेपालमा आकर्षित हुँदै गएको पाइएको छ ।

आयात संकुचन, सरकारको वाह्य ऋण परिचालनमा भएको वृद्धि, प्रत्यक्ष बैदेशिक लगानीमा भएको वृद्धि र नेपालीको वैदेशिक भ्रमण व्यय घटेपछि समग्रमा शोधनान्तर समेत बचतमा गएको राष्ट्र बैंकको भनाई छ ।

होटल लगायत पर्यटन पूर्वाधार विस्तार, पुनरनिर्माण कार्यमा निरन्तरता र संघीयता कार्यान्वयनले गति लिन थालेकोले उच्च आर्थिक वृद्धिको प्रवृतिलाई कायम राख्न सहयोग पुग्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।