समाचार

रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्ता

काठमाडौं । नेपालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएको छ । रुसको भ्रमणमा मस्को पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समकक्षी सेर्गेइ लाभ्रोभलाई भेटेका छन् ।

उनीमार्फत मन्त्री ज्ञवालीले राष्ट्रपति विद्या भण्डारीबाट पुटिनलाई पठाइएको औपचारिक निम्तोपत्र हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मस्कोमा मन्त्री ज्ञवालीले समकक्षी सेर्गेइ लाभ्रोभलाई भेटेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई पठाएको निम्तो समेत सोही अवसरमा हस्तान्तरण गरे ।

पछिल्लो समय रुसी दूतावासले समेत विभिन्न च्यानलमार्फत रुसी राष्ट्रपति समक्ष नेपाल भ्रमणको वातावरण बनाउन सक्रिय रहेको छ । विश्वका शक्तिशाली राष्ट्रपतिको नेपाल भ्रमण हुन सके त्यसले विश्वभर नेपालको सकारात्मक प्रचारमा ठूलो भूमिका खेल्ने छ ।