स्वास्थ्य

बढी लिएको शूल्क फिर्ता गर्न मेडिकल कलेज सहमत

काठमाडौं । मेडिकल कलेजहरुमा विद्यार्थीबाट बढी असुल गरेको शुल्क फिर्ता गर्न तयार भएका छन् । सरकारले कारवाहीको तयारी गरेपछि कलेजहरु शूल्क फिर्ता लिन तयार भएका हुन् ।

सरकारले १५ दिनको अल्टिमेटम दिँदै बढी लिएको शूल्क फिर्ता गर्न निर्देशन दिएको थियो । अल्टिमेटम सोमबार सकिएको छ ।

सोमबार नै शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेजका संचालक र मन्त्रालयबीच छलफल भएको थियो । छलफलमा निजी मेडिकल कलेज संचालक शुल्कमा समायोजनका लागि तयार भएका छन् ।

मेडिकल कलेज संचालकले मंगलबारसम्म लिखित प्रतिबद्धता जनाउने सहमति मन्त्रालयसँग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अग्रसरतामा छलपफल भएको हो ।

अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिने उद्देश्यले छलफल आयोजना गरेको थियो ।

सोमबार नै गृह मन्त्रालयमा सरोकारवालाको बैठक बसेको थियो । बैठकले शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजलाई बुधबारदेखि कारबाही थाल्ने निर्णय गरेको थियो।

त्यसपछि शिक्षा मन्त्रीले उक्त निर्णयबारे जानकारी गराउन कलेज संचालकलाई मन्त्रालयमा डाकेका थिए ।

गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको बैठक बसेको थियो ।

सरकारले एमबिबिएस, बिपीएच, नर्सिङ, बिडिएस, बिएमएलटी, बिएमआईटी लगायत आठ संकायको शुल्क निर्धारण गरेको छ।

तर, कलेजले भने विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका थिए । सरकारको अल्टिमेटमसमेत अटेर गरेका उनीहरुले गृहमन्त्रालयको चेतावनी पछि भने शुल्क फिर्ता गर्न सहमति गरेका हुन् ।