फिचर

प्रधानमन्त्री मंगलबार दिनभर खेल व्यवस्थापनमा सक्रिय

काठमाडौं । नेपालमा सामान्यतया राजनीतिक नेतृत्वको ध्यान खेलमा कमै मात्र पुग्छ । नेताहरु खेल उत्तिसारो बुझ्दैनन् पनि, त्यसकारण उनीहरुले यसलाई अनुत्पादक सरह मान्छन् ।

तर, नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च चासो देखाएका छन् ।

नेपालमा दुई दशकपछि आयोजना भएको साग शुरु हुन पाँच दिन मात्र बाँकि छ । तर कतिपय संरचना अझै बनिसकेका छैनन् । अन्तिम समयमा आएर कामका चटारोमा जुट्ने नेपाली परम्परा यस पटक पनि जारी छ ।

यसै मेसामा प्रधानमन्त्रीले मंगलबार खेलाडीसँग सामुहिक भेटघाट  र उनीहरुलाई हौसला बढाउन सक्रिय हुने छन् । मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा उनले खेलाडीसँग सामूहिक छलफल गर्दैछन् ।

साग १५ मंसिरबाट औपचारिक रुपमा शुरु हुँदैछ । मंगलबार नै प्रधानमन्त्रीले खेलकुदसँग सम्बन्धित सरोकारवालाको बैठक डाकेका छन् । त्यहा भौतिक संरचना निर्माणसहित समग्र साग आयोजनाको तयारीबारे छलफल हुने भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने उच्चस्तरीय निर्देशन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

समितिमा साग खेल आयोजना हुने प्रदेशका मुख्यमन्त्री, युवा तथा खेलकुद मन्त्री, खेलकुद मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख सहभागी हुने कार्यक्रम रहेको छ ।

साग काठमाडौंसहित पोखरा र जनकपुरमा आयोजना हुँदैछ । प्रधानमन्त्रीले मंगलबार नै निर्माणाधिन दशरथ रंगशालाको समेत स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

करीव ४ वर्ष पछि सोमबारदेखि पहिलो पटक रंगशालाको मैदानमा खेलाी उत्रिएका छन् । खेलाडीले केही बेर अभ्यास गरेका थिए ।