स्वास्थ्य

प्रधानमन्त्री अस्पताल भर्ना, एपेन्डिसाइटिसको अपरेसन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको सफल अपरेसन गरिएको छ । प्रधानमन्त्रीको मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेसन गरिएको हो ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा निरन्रता सुधार भइरहेको जानकारी गराएका छन् ।

पेट दुखेपछि उनलाई स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना गरिएको थियो । डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका थिए । प्रधानमन्त्रीलाई पूर्ण बेहोस बनाएर अपरेशन गरिएको थियो ।

स्वास्थ्य परीक्षणका दौरान प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको थियो । त्यसपछि शल्यक्रिया गर्नुपर्ने निष्कर्षमा डाक्टर पुगेका थिए ।

उनलाई केही दिन अस्पतालमा चिकित्सककै निगरानीमा राख्नु पर्ने भएको छ । शरिरको ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने एक नली नै एपेन्डिस हो ।

यो पेटको दाँयातिर तल्लो भागमा रहेको हुन्छ। एपेन्डिसको काम नभएका कारण शल्यक्रिया गरी फाल्दा पनि कुनै असर गर्दैन् । त्यही एपेन्डिस संक्रमणमा भयो भने अधिक पेट दुखाईको महसुश हुन्छ ।

एपेन्डिसमा घाउ हुँदा भएपछि त्यसमा पीप जम्छ, यो पिप फूटेर पेटमा पोखियो भने त्यसले भने शरीरमा असर गर्छ ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे मंगलबार नै जानकारी लिएका छन्। उनी मंगलबार साँझ अस्पताल पुगेका थिए ।