05-Dec-2019 | १९ मंसिर २०७६, बिहीबार

आयो विवाहको मौसम

१० मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाको चार महिने विश्रामपछि मंसीर महिना लाग्ने वित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । गरगहना, लत्ताकपडाको जोहो गर्दै वाक्दान आदि विधिले केटाकेटी तयार पारी शालको पातको टपरी गास्ने, सेल पकाउने, कसर बाट्ने, यज्ञ तयार गर्ने र शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ । विवाह गर्ने परम्परामा समयानुकूल केही परिवर्तन भइरहेको हुन्छ नै ।

हिन्दू विवाह संस्कार धेरै प्रकार रहेका छन् । दुबै पक्षको सहमतिमा समान वर्गको सुयोग्य वरसँग परिवारले विवाह गरिदिने प्रचलनलाई व्रह्म विवाह अर्थात् मागी विवाह भनिन्छ । धार्मिक अनुष्ठानको पूर्ण फलका लागि कन्यादान गरिएमा देव विवाह भनिन्छ । त्यसैगरी कन्या पक्षलाई गौदान आदि मूल्य दिएर विवाह गरिएमा आर्श विवाह भनिन्छ । कन्याको सहमति विना कुनै अभिजात्य वर्गसँग विवाह गरिदिएमा प्रजापत्य विवाह भनिन्छ भने परिवारको सहमतिविना रीतिरिवाज या विधि पनि पूरा नगरी भागेर गरिने विवाहलाई गन्दर्भ विवाह भनिन्छ । यसलाई मौलिक भाषामा पोइला जानु भन्ने पनि गरिन्छ । कन्यालाई नै किनेर गरिने विवाह असुर विवाह हो । कन्याको अपहरण गरी जबर्जस्ती विवाह गरेमा राक्षस विवाह भनिन्छ । कन्या निदाएको या मानसिक दुर्बलता भएको बेलामा बतात्कार जस्तै शारीरिक सम्पर्क गरी पछि विवाह गरेमा पैशाच विवाह भनेर चिनिन्छ ।

यसरी विवाहको अनेक प्रकार बताइए पनि समयको तिब्र बेग तथा विश्वव्यापीकरणको प्रभावले विवाहको तरिका र प्रकारमा अनेकन मिश्रित घटनाहरु देख्न सकिन्छ । वर्तमानमा मूलतः मागी विवाह, प्रेम विवाह, प्रेममागी विवाह धेरै चले पनि विदेश जाने चटारोले अस्थार्यी भिसाविवाह’ स्थार्यी भिसाविवाहर्, पिआर तथा ग्रीनकार्ड विवाह र सक्कली एवं नक्कली विवाह’ आदि इत्यादि विवाहका अनेक स्वरmप देख्न पाइन्छ । त्यसका अतिरक्त बहुप्रेम पछि थाकेर गर्ने विवाह अनि बहुसन्तान प्राप्तिपछि अनेकौं वर्षसँगै बसेर अनि छोराछोरीसँगै जन्ती बनी गर्ने विवाह पनि आजभोलि चल्तिमा आएको छ । स्वजाति विवाह, अन्तर्जातीय विवाह, अन्तर्धार्मिक विवाह, अन्तर्देशीय विवाह, महिलामहिला बीच र पुरुष-पुरुष बीचको समलिङ्गी विवाह आदि विवाहसमेत हुनेगरेका छन् । हरेक प्रकारका विवाहमा केही न केही अशल र खराव पक्ष भने देख्न पाइन्छ नै । समस्या र समाधानको चक्र दिनरात घुमेजस्तै, कुमालेको चक्र घुमेजस्तै घुमिरहन्छ । समस्या पहिले पनि थियो आज पनि छ ।

नेपाली सनातन हिन्दू परम्परामा परिवार या लमी मार्फत् केटाकेटीको विषयमा कुरा चलाउने र धेरै कुरा मिलेमा पहिले चिना मिलाउने परिपाटी रहेको पाइन्छ । केटा र केटीको जन्म समय अनुसार तयार भएको चिनामा वर्णको १, वश्यको २, ताराको ३, योनिको ४, मैत्रीको ५, गणको ६, भकूटको ७ र नाडीको ८ गरी जम्मा ३६ गुण मध्ये १७ भन्दा धेरै प्रप्तांक आएमा ज्योतिषको परामर्षमा विवाह गर्ने निश्चय हुन्छ । गुणका अतिरिक्त केटाकेटीको मांगलिक स्थिति समेत हेर्नुपर्ने हुन्छ । लग्नकुण्डलीको १, ४, ७, ८ तथा १२ स्थानमा मंगल ग्रह विराजमान भए मांगलिक हुने र मांगलिक केटाको मांलिक केटीसँगमात्र विवाह गर्नुपर्ने शास्त्रीय मत रहेको छ, अन्यथा वैवाहिक सुखमा कमी आउने शास्त्रीय मत रहेकाले कुम्भ विवाह, कलश विवाह, तुलशी विवाह आदि विधिले दोष निवारण गरी विवाह गर्ने गरिन्छ । सामाजिक परिस्थिति अनुसार केटाकेटीको केही लक्षण मिलाएर विवाह गर्ने गरेको राय कवितामा पनि भेटिन्छ ।

त्रिकाल जन्मकुण्डलीमा वर तथा कन्याको लक्षण कवितामार्फत् यसरी गरिएको छ ।

उत्तम कन्या:

राम्रा दाँत मुहार कान मसिनु बोली कटी बारुले,

हात्तीझैं हिंडने नपारी दमको लामा नयन नम्रले ।

बाबा आदि रिझएकी कुच ठुला राता दुबै ओठ छन्

काला केश र हातपाउ मसिना कन्या अशल भन्दछन् ।।

उत्तम वर:

विद्या शील शरीर शाहस शुचि सौन्दर्यशाली कुल,

शान्ति सम्पत्तिवान् आफू सरहको सच्चा नगर्ने छल ।

ज्वाईंको गुण हेरी छोरी दिनु है साह्रै नजिकै पर,

वृत्तिहीन गरीब धेर धनवान् रोगी बुढो छाडेर ।

त्रिकाल जन्मकुण्डलीमा यस्तो बताए पनि संस्कृतमा अर्कै भनाई छ:

कन्या कामयते रूपं माता वित्तं पिता श्रुतम् ।

बान्धवाः कुलमिच्छन्ति मिष्टान्नमितरे जनाः ।।

अर्थात् विवाहका लागि छोरी सुन्दर रुपवान् केटाको चाहना गर्छिन्, माता छोरीलाई पाल्न सक्ने सम्पत्तिवान् केटा हेर्छिन्, पिता केटाको ज्ञान हेर्छन्, बन्धुबान्धव राम्रो कुलघरान हेर्छन् र बाँकी आउने निम्तालुको मिठोमिठो खानेकुरामै ध्यान हुन्छ । यसरी हेर्दा विवाहमा सबैको फरकफरक अभिलाषा र योजना हुने गर्दछ ।

जेजस्तो तरीकाले विवाह भएपनि यो पवित्र र अटूट मायाको बन्धन हो । विवाहरुपी नियमले परिवार, समाज, देश र विश्वलाई नै व्यवस्थित सूत्रमा बाँधेको हुन्छ र्। खुट्टा भए जुत्ता कति कति ‘भन्ने मूल मन्त्र लिएर सम्बन्धहरुलाई अस्थाई बनाउनतिर लागी परस्त्री एवं परपुरुषतिर गिद्देदृष्टि बढाउने हो भने समाज झनै अव्यवस्थित हुँदै जान्छ । त्रिकालदर्शी प्राच्य ऋषिमुनिहरुले प्रतिपादन गरिएका नियमहरुलाई पुरातन सम्झेर तथाकथित आधुनिक हुने नाममा आफ्नो मौलिकतालाई छोडी आयातीत संस्कृतिलाई अंकमाल गर्दै गयौं भने हामी नेपाली नराम्रो पारिवारिक संकटरुपी भूमरीमा जाकिने निश्चतप्राय छ । भनिएको छः

आहार निन्द्रा भय मैथुनञ्च,

सामान्यमेतत् पशुभिर्नराणाम् ।

धर्मो हि तेषामधिको विशेषः

धर्मेण हीनाः पशुभिः समानाः ।।

अर्थात् आहार, निन्द्रा, भय र मैथुन त पशु र मानिसमा समान हुन्छ, मानिसमा विशेष हुने भनेको धर्म हो । धर्मले हीन भयो भने पशु समान भइन्छ नै ।

यहाँ धर्म भनेको नियम हो, व्यवस्था हो, अनुशासन हो, कर्तव्य हो, दायित्व बोध हो । क्षणिक आवेग थाम्न नसकी रीष, राग, द्वेष, लोभ, अहंकार आदिको बसमा परेर वर्तमान समयको मिथ्या मनोरञ्जनमात्र हेर्ने हो भने हामी मानव भएर पनि मानवजस्तो हुन सक्दैनौं । विवाह एक धर्म हो, त्यसैले धार्मिक हुनुपर्छ । त्यसैले त पत्नीलाई धर्मपत्नी भनिन्छ । घरको मियो, धर्मको मियो पत्नी नै हो त्यसैले गृहमन्त्री समेत भन्ने गरिन्छ, त्यो सामर्थ नारीमा भएर नै हो । सम्बन्ध बलियो बनाउन पतिपत्नी दुबैको समान र जिम्मेवारपूर्ण व्यवहार हुनुपर्छ ।

न्यूयोर्कको नेपाली महावाणिज्य दूतावासको कार्यालयबाट कार्यकाल सकेर स्वदेश फर्कने बेलामा वाणिज्यदूत कवि कृसु क्षेत्रीले आफ्नो कार्यकालमा धेरै नेपालीको सेवा गर्न पाएकोमा खुसी भएपनि नेपालीको डिभोर्स पेपरमा हस्ताक्षर गर्नुपर्दा हात काटिएजस्तै भएको नमिठो अनुभव भावुकमुद्रामा सुनाउनुभएको थियो । त्यस्तै एक अर्को कार्यक्रमा वर्तमान कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले पनि विदेशमा डिभोर्सको घटना बढेको तीतो यथार्थ सुनाउनुभयो । यी त प्रतिनिधि अनुभवमात्र हुन्, हरेकदिन वैवाहिक सम्बन्धमा चिरा परेका अनेकौं समाचार सुन्न हामी बाध्य भएका छौं । यस्ता गतिविधिले हाम्रो समाज झनै अन्धकारतिर धकेलिन सक्छ । छोरी विदाई गर्दा ‘मारे पाप पाले पुण्य’ भनी जिम्मेवारीको बोध गराउनुको साटो ९११ (प्रहरीको नम्बर) पनि याद गराउनुपर्ने स्थिति आएमा पूजा गरी लगनगाँठो कसेर परिवार जोड्ने पण्डित साइकलमात्र चढ्छन् अनि डिभोर्स गर्न सिकाउने वकिल विलासी कारमा हुँइकिन्छन् ।

यो वर्षको झ्याई पार्ने मौसममा घरबार बस्ने सबैलाई शुभकामना । एकता नै बल हो । प्रेम, समर्पण र विश्वासको वाटिकामा मात्र शान्तिको फूल फुल्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार