रोचक खवर

मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीसहित नौ जनालाई विपक्षी बनाएर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप गुप्तामाथि लगाएको छ ।

अन्य व्यक्ति भने गुप्ताकै परिवार हुन् । अख्तियारले १५ करोड बिगो माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

भ्रष्टाचार मुद्दामा गुप्ता, श्रीमती रिता देवी, छोरा विक्की गुप्ता र रकी गुप्ताको नाममा सम्पत्ति राखेको पाइएको छ ।

यसबाहेक आफन्त कविता कुमारी, निरजकुमार गुप्ता राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी बनाएको अख्तियारले उल्लेख गरेको छ ।

उनले २०४७ सालमा जागिर सुरू गरेका थिए । अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेको पाइउपछि अख्तियारले छानविन थालेको हो ।