फिचर

नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि...

काठमाडौं । अरुको खाताबाट सक्कली चेक नै बनाएर रकम निकाल्ने धन्दामा संलग्न ६ जनालाई प्रहरीले पक्रिएर सार्वजनिक गरेको छ ।

प्रहरीले अञ्जन बराल, सुभाष श्रेष्ठ, मनिष घिमिरे, कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरेलाई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट कैयौ व्यक्तिको सक्कली चेक नै फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये श्रेष्ठ, तामाङ, घिमिरे र बराल काभ्रे पाँचखाल नगरपालिका, ३ का हुन्।

उनीहरू कालिमाटीमा फ्लाट भाडामा लिएर बस्दै आएका छन् । बाग्लुङ गलकोट नगरपालिका, ३ का पौडेल बुद्धनगर र सिन्धुपाल्चोक साबिक ज्यामिरे गाविस, ९ का गोविन्द सुविधानगरमा बस्दै आएका छन् । उनीहरु १९ देखि ३० वर्ष उमेर समूहका युवा हुन् ।

उनीहरुले कालिमाटीको डेरामा राति अबेरसम्म विभिन्न व्यक्तिको कीर्ते सही बनाउने अभ्यास गर्ने गरेको प्रहरीले फेला पारेको छ । रजिष्टर लगेर त्यहा उनीहरुले नक्कली सही बनाउन सिक्ने गर्थे ।

सोमबार अन्जन बरालले गोपालमान राजबाहकलाई दिउँसो फोन गरेर आफू जनता बैंकबाट बालेको र खाता जाँच भइरहेको भन्दै फोन अफ गर्न लगाए । नत्र सिस्टमले काम नगर्ने उनको भनाई थियो ।

राजबाहकले बैंककै कर्मचारीको फोन सम्झेर मोवाइल बन्द गरे । तीन बजे तीर उनलाई त्यस्तो फोन आएको थियो । राति साढे ८ बजेपछि फोन अन गर्दा उनको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ निकालेको म्यासेज आए ।

त्यसपछि तत्काल उनले प्रहरीलाई खबर गरे । प्रहरीले जनता बैंकमा निगरानी बढायो । मंगलबार तीन जना व्यक्ति राजबाहककै चेक बोकेर बैकमा चेक साट्न आएपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

उनीहरुको कोठा खानतलासीबाट प्रहरीले नगद, चेकबुक, एटिएम र बैंकका फाइल, खाता खोल्न राखिएका मानिसका फोटो र नागरिकताको नक्कल फेला पारेको छ । उनीहरुसँग करीव ३ सय मानिसको फोटोकपीको नक्कल रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुलेव्यक्तिको सक्कली नै चेकबुक बनाएर खातावालाको नक्कली सही मार्फत पैसा निकालेका छन् । यसमा बैंकबाटै हस्ताक्षर बाहिरिएको आंशका प्रहरीको छ ।

घटनामा कर्मचारीको समेत मिलेमतो देखिने भन्दै विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि अन्य खाताबाट पैसा निकालिएको समेत प्रहरीको दावि रहेको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार खातावालाका नागरिकताको प्रतिलिपि २९० थान, खातावालाको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, हस्ताक्षर नमूनाको डायरी दुई थान, खाता खोल्न फोटो टाँसेको तयारी फारम ३०० बरामद भएको छ ।

११५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट जारी भएका १६ थान चेकबुक, ४१ थान काटिएको चेकबुक, ज्योति विकास बैंकमा अन्जन बरालको नाममा जारी भएको चेकबुक एक थान समेत यो समूहबाट जारी भएको छ ।

एभरेस्ट बैंकको २० थान चेकबुक, सोही बैंकमा काटिएको तीन थान चेकबुक, माछापुछ्रे बैंकका १७ थान, मुक्तिनाथ विकास बैंकका ४१ थान, एनआइसी एसिया बैंकका चेकबुक ६८ थान समेत बरामद भएका छन् ।

विभिन्न व्यक्तिका फोटो ८२५ थान, एनआइसी एसियाका ८२ थान एटिएम, अन्य बैंकका ७ थान एटिएम र विभिन्न बैंक तथा व्यक्तिको हस्ताक्षर गरेको चेक ३२९ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस घटनाबाट करीव १८ वटा बैंकको सीस्टम जोखिममा रहेको प्रहरीले अनुमान गरेको छ ।