रोचक खवर

युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो ।

‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण रोजगार व्यवस्थापन सूचना प्रणालीको विकासमा खर्च हुने भएको छ ।

यसले यसले ७ सय ५३ वटा स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न सहयोग पुग्ने भएको छ ।

यसबाहेक प्रधानमन्त्री कार्यक्रममा सूचीकृत भएका बेरोजगार युवालाई एक सय दिन काम गरेको तलब पनि यही ऋणको रकमबाट उपलब्ध गराइने भएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।