समाचार

उपनिर्वाचनको तयारी पुरा, मौनअवधि लागु

काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबारबाट मौन अवधि सुरु भएको छ ।

अब निर्वाचन सामग्री निर्वाचन स्थलमा लैजाने र निर्वाचन हुने स्थलको व्यवस्थापनको काम भइरहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

मौन अवधिमा लागेसँगै प्रचार प्रसारको काम भने बन्द भएको छ । अब निर्वाचनसम्बन्धी कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, गराउन तथा वेबसाइट र सामाजिक सञ्जाल प्रयोग गरी भोट माग्न पाइदैन ।

मौन अवधिमा सञ्चारमाध्यमबाट पनि दलहरुले निर्वाचन प्रचारप्रसार गर्न गराउन, वेबसाइट, ट्विटर, फेसबुक, भाइबर, एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरी मत माग्न निधेष गरिएको छ ।

निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मीलगायत सम्बन्धित जिल्ला तथा मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।

निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीबाहेक मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन सय ५४ कर्मचारी खटिएको आयोगले जनाएको छ ।

मतदान केन्द्रमा दुई हजार ६ सय ८४ कर्मचारी र दुई हजार १६ स्वयंसेवक गरी जम्मा पाँच हजार ५४ खटिएका छन् ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

यस निर्वाचनलाई दलहरुले निकै प्रतिष्ठापूर्वक हेरेका छन् ।