स्वास्थ्य

प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी अस्पतालमा

फाइल तस्वीर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।

उनी बिहीबार साँझ अस्पताल पुगेकी हुन् । मंगलबार एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न उनी अस्पताल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार आएको बताइएको छ । उनले बिहीबार आफै सामाजिक संजाल हेरेर टुइट समेत गरेका थिए । राष्ट्रपतिले प्रधानमन्त्रीको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी थिइन् ।