फिचर

अमेरिकी सरकारी ऋणको बृद्धि रकेट गतिमा, ट्रम्पको बचन विपरित २३० खर्ब डलर नाघ्यो ऋण

प्रभात भट्टराई/अमेरिका

अमेरिकाको सरकारी कर्जा २३० खर्ब (ट्रिलियन) डलर माथि पुगेको छ । इतिहासमै पहिलो पटक सरकारी ऋणले यो उचाइ छोएको हो ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएको तीन बर्षसम्म सरकारी कर्जा तीब्र गतिले बढेको हो । सन् २०१७ को जनवरीमा १९९ खर्ब डलर रहेको कर्जाले २०१८ को मार्चमा २१० खर्ब डलरको सीमा नाघि सकेको थियो । बाराक ओबामाको कार्यकालमा १०५ खर्ब डलरबाट बढ्न थालेको सरकारी ऋण १९९ खर्बसम्म पुगेको थियो । ओबामा राष्ट्रपति निर्वाचित हुँदा अमेरिका लगायत पश्चिमा अर्थतन्त्रमा गम्भीर आर्थिक संकट सुरु भएको थियो । त्यो संकटबाट पार पाउने क्रममा लगातार कर्जा बढ्न पुगेको थियो ।

रिपब्लिकनहरुले ऋण बढेकोप्रति ओबामाको चर्को आलोचना गरेका थिए । ट्रम्पले ऋणलाई शुन्यमा झार्ने दावीका साथ देशभर क्याम्पेन गरेका थिए । सन् २०१६ मा वासिंटन पोष्टलाई एक अन्तर्वाता दिँदै उनले आठ बर्षे कार्यकालमा सरकारी ऋण शुन्यमा झार्ने दावी गरेका थिए । तर, त्यस्तो कुनै लक्षण देखिएको छैन । ह्वाइट हाउसका आर्थिक सल्लाहकार लारी कुडलोउले गत जनवरीमा सिबिएस न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पको भनाइको मतलव ऋण शुन्यमा झार्ने नभएको बताएका थिए ।

‘म त्यसबेला थिइँन त्यसैले धेरै कुरा थाहा भएन तर प्रकाशित अन्तर्वार्ता हेर्दा भने उनले (राष्ट्रपति) त्यसो भने जस्तो लागेन, उनले भनेका छन्– मेरो बिचारमा उनले सरकारी ऋण थप बढ्न नदिने चाहिँ बताएका हुन् ।’

नोभेम्बर १ मा सरकारी ऋण २३० खर्ब डलर पुगेको थियो । कुडलोउले ट्रम्प भनाइको तात्पर्य ऋण अन्त्य गर्ने नभइ बढ्न नदिने रहेको दावी गरेको १० महिनामै थप १० खर्बले कर्जा बृद्धि भएको हो । समग्रमा ट्रम्पले सत्ता सम्हालेयता सरकारी ऋण १६ प्रतिशतले उकालो लागि सकेको छ । ट्रम्पले अर्को बर्ष पहिलो कार्यकाल पुरा गर्दा उनको कुल बृद्धि ३० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । डेमोक्र्याट राष्ट्रपति हुँदा कर्जा बढ्यो भने चर्को विरोध गर्ने रिपब्लिकन सांसद एवं सिनेटरहरु अहिले मौन छन् । ट्रम्पले पनि आफुले कर्जा शुन्यमा झार्ने दावी दोहोर्याएका छैनन् । २३० खर्ब डलरमध्ये सर्वसाधारणबाट लिइएको ऋण १७० खर्ब डलर मात्र हो । यो कर्जा तिर्न सरकारसँग कुनै नाइनास्ती गर्ने छुट हुँदैन । त्यसैले सरकारी ऋणको कुरा गर्दा यो अंक धेरै महत्वपुर्ण हुन्छ । बाँकी छ खर्ब डलर कर्जा भने बिभिन्न सरकारी एजेन्सीहरुसँगै लिइएको हो । ‘२३० खर्ब डलर ऋण पुग्नुले हाम्रो अर्थतन्त्र र भावीपुस्ताप्रति चिन्ताजनक कोशेढुंगा दर्र्शाएको छ तर अझै पनि वासिंटनको नेतृत्वले चेत नदेखाउनु भने उदेकलाग्दो अवस्था हो’ परम्परागत अर्थनीतिमा विश्वास राख्ने पिटर जी पिटरर्सन फाउन्डेसनका प्रमुख कार्यकारी माइकल ए पिटर्सनले द हिलसँग भनेका छन् ।

बढ्दो सरकारी ऋणले निजी क्षेत्रको ब्याजदर एवं कर्जाको लागतलाई महंगो बनाइदिन्छ । त्यसैले सरकारले अत्यधिक कर्जा लिनुलाई बजार पक्षधरहरुले पनि स्वस्थकर मान्दैनन् । जस्तो कि सन् २०१९ मा सरकारले कर्जाको ब्याजदर मात्र तीन खर्ब ७६ अर्ब डलर तिर्नु परेको थियो । यो रकम उक्त बर्षको अमेरिकी रक्षा बजेटको आधा हिस्सा बराबर हो । त्यस्तै शिक्षा, कृषि, यातायात एवं हाउजिङमा सरकारले उक्त रकम भन्दा कम खर्च गरेको थियो । सरकारी कर्जा बढाउन सामाजिक सुरक्षा, मेडिकेयर, गरिबी निवारण जस्ता अपरिहार्य कार्यक्रमले धेरै बल पुर्याएका छन् ।

आगामी बर्षहरुमा सरकारी ऋणको बृद्धि झनै उच्च हुने अपेक्षा गरिएको छ । सन् २०१७ को रिपब्लिकन कर छुट सम्बन्धि कानुनले आगामी एक दशकमा १९ खर्ब डलरले आन्तरिक ऋण बढाउने अपेक्षा गरिएको छ । त्यस बाहेक दुबै दलको सहमतिमा भइ रहेको रक्षा र अन्य खर्चबृद्धिले यसलाई झनै बढावा दिनेछ ।

रिपब्लिकनहरु सतहमा सरकारी ऋण बृद्धिको विरोधी देखिएपनि उक्त दलकै राष्ट्रपतिको पालामा कर्जा बृद्धि धेरै भएको छ । जर्ज डब्लु बुसको पालामा १०१ प्रतिशतले सरकारी कर्जा बृद्धि भएको थियो । यस्तै रोनाल्ड रेगनको पालामा १८६ प्रतिशतले ऋण बढेको थियो ।

डेमोक्रेटिक राष्ट्रपति विल क्लिन्टनको पालामा भने सरकारी खाताको सन्तुलन तुलनात्मक रुपमा राम्रो रह्यो । सन् १९८० पछिका राष्ट्रपतिमा घाटाको बजेट नल्याउने क्लिन्टन मात्र हुन् । शीत युद्ध सम्पन्न हुँदै जाँदा उनले रक्षा बजेटमा कटौती गरे । नयाँ कर नीति मार्फत राज्यकोषमा राजश्वको सीमा पनि बृद्धि गरे । उनले सन् २००१ मा पद छोड्दा सामाजीक सुरक्षा कोष ३६ अर्ब डलरले धनात्मक थियो । उनको पालामा सरकारी ऋणको बृद्धिदर पनि कुल गार्हस्थ उत्पादनको बृद्धिदरभन्दा कम भयो । उनले पद छोड्दा कर्जा र कुल गार्हस्थ उत्पादनको अनुपात ६२ प्रतिशतबाट ५४ प्रतिशतमा झरेको थियो । अर्थात उनले पद सम्हाल्दा अमेरिकी कुल गार्हस्थ उत्पादनको ६२ प्रतिशत सरकारी ऋण थियो भने पद छोड्दा त्यो ५४ प्रतिशतमा झरेको थियो । उनले धनाड्यहरुको कर बृद्धि गरि ३९.६ प्रतिशत पुर्याएका थिए । अर्थतन्त्रलाई सबल ढंगले चलाएकै कारण अनेक विवादका वावजुत पनि उनको लोकप्रियता उच्च थियो ।

अहिले अमेरिकाको सरकारी कर्जा कुल गार्हस्थ उत्पादनको तुलनामा १०० प्रतिशत माथि पुगि सकेको छ । धनी बर्गलाई कर छुट दिने रिपब्लिकन नीतिले यसमा थप बढावा दिँदै आएको छ । सन् २०२० को राष्ट्रपतिय निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका डेमोक्रेटिक नेताहरुले क्लिन्टनले जस्तै धनी वर्गलाई कर लगाएर अर्थतन्त्रलाई विस्तारै ट्र्याकमा ल्याउने दावी गर्दै आएका छन् ।
(एजेन्सीहरुको सहयोगमा)