फिचर

भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन १ महिना मात्र बाँकि छ । यसबीचमा सरकार, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालय यसको तयारीमा धुमधामका साथ लागेका छन् ।

यता, निजी क्षेत्र पनि यसमा साथसाथै अगाडी बढेको छ । बिहीबार मात्र नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टूर्सले पर्यटकका लागि १० प्रतिशत छूटको घोषणा गर्यो ।

यसअघि नेपाल ट्रेकिंग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटेल संघ नेपाल (हान), होमस्टे एशोसिएशन अफ नेपाल (होसान)लगायतले पनि पर्यटकको सेवालाई लक्षित गर्दै छूट योजना सार्वजनिक गरिसकेका छन् ।

नेपाल भ्रमण वर्ष मूल आयोजक समितिले गत सोमबार नजिी क्षेत्रले भ्रमण वर्षमा दिन सक्ने सुविधाका सम्बन्धमा कार्यक्रमको सूचि माग गरेको थियो ।

सोही अनुसार पछिल्ला केही दिनमा धमाधम निजी क्षेत्रले आफ्ना कार्यक्रम बुझाइरहेका छन् । यता, भ्रमण वर्ष सचिवालयले समेत यस वर्ष करीव ६३ करोड रुपैयाँको बजेट बनाएर भ्रमण वर्षको अभियानमा खर्च गर्ने योजना बनाएको छ ।

नेपालमा यस वर्ष आयोजना हुने अन्तरराष्ट्रिय कार्यक्रमले भ्रमण वर्षलाई सघाउन पुर्याउने भएका छन् । सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने आधार तयार पार्न भन्दै भ्रमण वर्ष घोषणा गरेको हो ।