डायस्पोरा

अमेरिकामा पनि कांग्रेस जाग्दै, तीन स्थानमा जागरण अभीयान हुने

नेपाली जनसम्पर्क समिति अमेरिकाले आउँदो जुन १५ का दिन अमेरिकाको तीन क्षेत्रमा एकैसाथ जनजागरण अभियान कार्यक्रम गर्ने भएको छ । गत मे २९ मा सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको जनाइएकाे छ ।

अभियानलाई प्रभावकारी ढंगले सफल बनाउन संगठनले अमेरिकाको पूर्व क्षेत्रमा महासचिव मुनिन्द्र नेम्बाङ, दक्षिणी भेगमा उपसभापति चेत प्रसाद पौडेललाई र पश्चिम क्षेत्रका लागि उपसभापति धर्म राज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीको रूपमा खटाएको छ ।

अमेरिकाको पूर्व क्षेत्रको न्यूयोर्कमा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, दक्षिणी भेगको टेक्सासका लागि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संस्थाका सभापति आनन्द बिष्ट र पश्चिम क्षेत्रको क्यालिफोर्नियामा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अथिति रहने महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिए ।

जनजागरण अभियानमा संस्थाका साधारण एवं कृयाशील सदस्य, शुभेच्छुक, संस्थाको केन्द्र र च्याप्टरमा आबद्ध, अग्रज एवं संस्थाका सल्लाहकार, नेपाली काँग्रेसमा आस्थावान एवं लोकतन्त्र प्रेमी आम नेपालीहरूको सहभागिता रहने समितिले जनाएकाे छ । साथै कार्यक्रमलाई भव्यरूपमा सफल बनाउन संस्थाका सबै संरचना एवं आस्थावान सबैलाई सहभागिताका लागि पनि समितिले अनुराेध गरेकाे छ ।