फिचर

सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

काठमाडौं । नेपालको वैदेशिक व्यापार क्रमशः सुधारको बाटोमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा ७ प्रतिशत घटेको छ ।

निर्यात भने २३.९० प्रतिशतले वृद्धि भएको छ । तथ्याङक अनुसार यसअवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।

गत वर्ष समिक्षा अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांक विभागको छ ।

यसअवधिमा ३६ अर्ब २७ करोडको निर्यात भएको छ । गत वर्ष यही अवधिमा २९ अर्ब २८ करोड रुपैयाँको सामान बाहिर गएको थियो । आयात खुम्चने र निर्यातमा भएको वृद्धिले चार महिनामा नेपालको व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ ।

गत वर्षको चार महिनामा ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेकोमा यो वर्षको पहिलो चार महिनामा ४ खर्ब १४ अर्बमा झरेको छ । जसले गर्दा समग्र वैदेशिक व्यापारमा समेत ५.१६ प्रतिशतले कमी देखिएको छ ।

नेपालमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ रहेकोमा डिजेल २९ अर्ब २४ करोड, पेट्रोल १२ अर्ब ३७ करोड, एलपी ग्यास आठ अर्ब १३ करोडको आयात भएको छ। परिणाममा बढे पनि रकममा डिजेल पेट्रोलको आयात घटेको छ।

यसअवधिमा सबैभन्दा बढी पाम तेल ८ अर्ब १३ करोडको निर्यात भएको छ। गत वर्ष यसै समयमा एक रुपैयाँको सामान निर्यात गर्दा १६ रुपैयाँको आयात गरेकोमा अहिले अनुपात घटेर १२ मा झरेको छ।