समाचार

आज उपनिर्वाचन, ७ बजेबाट मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज उपनिर्वाचन हुँदैछ।

निर्वाचन आयोगका अनुसार, ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान शुरु हुनेछ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ ।

आयोगले कुनै शंका, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आह्वान समेत गरेको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकीकृत सुरक्षा योजना तयार भएको छ ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४ लाख ५४ हजार ११४ जना मतदाता छन् ।

उपनिर्वाचनअन्तर्गत कास्की २ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुनेछ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।