स्वास्थ्य

प्रचण्डले भेटे प्रधानमन्त्रीलाई, उपनिर्वाचनमा पार्टी बलियो रहेको सन्देश

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीलाई भेट्न उनी अस्पताल पुगेका थिए । यसअघि बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई भेटेकी थिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भने भेट गर्न दिइएको थिएन । प्रधानमन्त्री पत्नी राधिका, राष्ट्रपति भण्डारी र प्रचण्डबाहेक अन्य कसैले पनि प्रधानमन्त्रीलाई अस्पतालमा भेट्न पाएका छैनन् ।

प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीले आफूलाई निकै सुधार भएको भन्दै समसामयिक परिस्थतिबारे जिज्ञासा राखेका थिए । प्रचण्डले उपनिर्वाचनमा पार्टीको अवस्था बलियो रहेको भन्दै अन्य परिस्थिति सामान्य रहेको जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

दुई अध्यक्षबीच करीव ५ मिनेट भेटवार्ता भएको हो । उनीहरुबीच अस्पतालको आईसियुमै कुराकानी भएको हो।

प्रचण्डले बाहिर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सबैको चासो रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

सबैले सीघ्र स्वास्थ्य लाभको कामना गरेको समेत सन्देश सुनाएका थिए । उनले उपनिर्वाचनको तयारी पुरा भएको र पार्टी बलियो अवस्थामा रहेको भन्दै ढुक्क हुन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।