समाचार

उपनिर्वाचन अपडेट: मतदान जारी-पोखरामा बम विस्फोट

काठमाडौं । उपनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । बिहान ११ बजेबाट मतदान शुरु भएको हो । अहिले मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज उपनिर्वाचन भइरहेको हो । आयोगका अनुसार, ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनअन्तर्गत कास्की २ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुनेछ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । यसैबीच, कास्की क्षेत्र नं २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान जारी भएका बेला अज्ञात व्यक्तिले बम फालेको र विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । मानवीय क्षति भने भएन । विस्फोटपछि उक्त मतदानस्थलको मतदान केही बेर रोकिएर पुनः सूचारु भएको हो ।