रोचक खवर

सागकै मुखमा खेलाडी कतार भागेपछि...

काठमाडौं । र्कीतिमानी नेपाली धाविका तुलसा खत्री पलायन भएकी छिन् । खेलाडी पलायन हुनु सामान्य हो । तर, उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देशको प्रतिनिधित्व गर्दै थिइन् ।

अर्कोतर्फ उनी विभागीय नेपाली सेनामा आवद्ध छिन् । जसले गर्दा उनलाई अन्य खेलाडीलाई जस्तै आर्थिक अवस्थाका कारण देश छाड्नु पर्ने बाध्यता पनि थिएन् ।

तर, चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका खत्री १३औं सागमा बन्द प्रशिक्षण नै छाडेर भागेकी छिन् । घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई नै झुक्याएर उनी कतार पुगेको खुलेको छ ।

एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङका अनुसार खत्रीले प्रशिक्षणमा ढिला आउने सन्देश बुधबार दिएकी थिइन् । तर, बिहीबार साँझसम्म पनि प्रशिक्षणमा नआएपछि सोधखोज गर्दा उनी भागेको खुलेको हो ।

प्रशिक्षकले शुक्रबार लिखित रुपमा उनी भागेको जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई गराएका छन् । आफ्नो करियरका लागि भन्दै देशबाट खेल्ने मौका छाडेर भाग्नु परेको उनको भनाई थियो ।

खत्रीले सागमा चार सय मिटर दौड, हडल्स र रिलेमा भाग लिने तय भएको थियो । यस खेलमा नेपालले उनीबाट पदकको आशा गरेको थियो ।

किनकी उनले गत महिना चीनको उहानमा भएको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा महिला चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यससमय उनले ९ वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन्।