समाचार

सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमले १३औं दक्षिण एशियाली खेलकूद (साग)मा भाग लिन आएका खेलाडी, अफिसियल तथा अन्य पाहुनालाई निःशुल्क फोरजी सीमकार्ड उपलब्ध गराएको छ ।

यस प्रतियोगिताका लागि पार्टनर स्पोन्सर बनेको टेलिकमले सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको हो ।

यस पटक सागका खेलहरु काठमाडौ, जनकपुर र पोखरामा हुँदैछन् । खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको बताएको छ ।

कम्पनीले विमानस्थलमा काउन्टर स्थापना गरेर सीमकार्ड उपलब्ध गराइरहेको छ ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको समेत व्यवस्था गरेको जनाएको छ ।

मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन ।

साथै, कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ ।

यसका लागि ११६६ सर्ट कोड मार्फत कल गरेर यो सेवा लिन सकिने भएको छ ।

कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबर्द्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ । टेलिकम नेपालको सरकारी स्वामित्वको टेलिकम सेवा प्रदायक कम्पनी हो ।