समाचार

उपनिर्वाचनको नतिजा आउन थाल्यो, दुई वडाअध्क्षमा नेकपा विजयी

काठमाडौं । उपनिर्वाचनको नतिजा आउन थालेको छ । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी भएका छन् ।

यहाँ सबैभन्दा कम मतदान भएको थियो । उनले १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गरे ।

यहाँ २ सय ९ मत खसेको थियो । यहाँ १ हजार २ सय ७४ जना मतदाता रहेपनि कम मतदान भएको हो ।

उता, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाएका छन् ।

समाजवादी पार्टीका भीम तामाङले ७४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । कुल ११९९ मतदाता रहेको यस वडामा ९२४ मत खसेको हो ।

यो खानेपानी मन्त्री बीना मगरको निर्वाचन क्षेत्र समेत हो । यसैबीच कास्कीमा समेत शनिबार रातीबाटै मतगणनाको तयारी भइरहेको छ । आइतबार बिहानसम्म आधा भन्दा धेरै स्थानको नतिजा आइसक्ने आयोगले जनाएको छ ।