फिचर

सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन गरिन् ।

आइतबार साँझ निकै आकर्षक तरिकाले झकिझकाउ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहमा उनले सागमा सहभागी सबै पाहुनालाई हार्दिक स्वागत गर्दै प्रतियोगिता शुरु भएको उद्घोष गरिन् । त्यसपछि आतीसबाजीले काठमाडौंको आकास झकिझकाउ पारिएको थियो ।

सन् १९९९ मा पछिल्लो पटक साग नेपालले आयोजना गरेको थियो । त्यसको दुई दशकपछि काठमाडौं आइपुगेको सागको रौनकलाई हजारौं दर्शकले हुटिंग गर्दै साथ दिए ।
उद्घाटन समारोहलाई सरकार प्रमुखको हैसियतमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरे । प्रधानमन्त्री बिरामी भएर उपचारका सिलसिलामा अस्पतालमा छन् ।

सम्बोधनका क्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले सागलाई सफल बनाउन प्राथमिकताका साथ पूर्वाधार निर्माण गरेको बताए ।

कार्यक्रममा मूल आयोजक समितिका अध्यक्ष तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्बोधन गरेका थिए ।

समारोहमा सात हजार ५०० बढी कलाकारले नेपालसहित सदस्य मुलुकको मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुती दिएका थिए ।

कीर्तिमानी खेलाडी दीपक विष्टले सागको ज्योती बालेका थिए । प्रतियोगिताका खेलहरु काठमाडौंसहित पोखरा र जनकपुरमा समेत संचालन हुने छन् । सन् १९८४ मा पहिलोपटक नेपालबाटै सागको शुरुवात भएको हो ।

साग दक्षिण एसियाली मुलुककै एक भब्य खेल मेला हो । १३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।