समाचार

उपनिर्वाचनको अन्तिम परिणाम, नेकपा र कांग्रेस दुबैलाई औसत जनमत

काठमाडौं । देशभर ३७ जिल्लामा भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचितहरुको अन्तिम सूचि सार्वजनिक गरेको छ ।

अघिल्लो निर्वाचनको तुलनामा एक उपमहानगरपालिका र एक प्रदेशसभा सदस्य गुमाएको नेकपा समग्र नतिजामा भने अग्रस्थानमै रहने सफल भयो । ५२ स्थानमा भएको निर्वाचनमा नेकपा एक्लैले ३० स्थानमा विजयी भयो ।

यस पटक धरान उपमहानगरपालिकामा कांग्रेसले ऐतिहासिक जित हाँसिल गरेको छ । जहाँ यसअघि कम्यूनिष्टले मात्र जित्दै आएको थियो ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्ष सहित ३० स्थानमा जित हासिल गरेको हो ।

नेपाली कांग्रेसले एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकामा मेयर पदसहित १३ स्थानमा जित हाँसिल गरेको छ । नेकपाले यसअघि हारेका ३ गाउँपालिकामा जित निकाल्न सफल हुँदा एक प्रदेश सभा सदस्य गुमाएको छ ।

समग्रमा अघिल्लो चुनावको तुलनामा नेकपालाई दुई स्थान फाइदा भएको छ । दाङमा एक प्रदेशसभा र उपनिर्वाचन भएका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष नेकपाले जितेको हो ।

नेकपा र नेकपाले समर्थन गरेका उमेदवारले समग्रमा ३२ स्थानमा जीत हारे । किनकी नेकपाले जनमोर्चालाई समेत समर्थन गरेको थियो ।