अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।

मूल्य राती १२ बजेबाटै लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले उल्लेख गरेका छन् । उनका अनुसार इन्डियन आयल कर्पोरेसनले मूल्य वृद्धि गरी पठाएका कारण नेपालमा मूल्य समायोजन गर्नु परेको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ । १ डिसेम्बरबाटै एलपी ग्यास र हवाई इन्धनको मूल्य पनि बढेर आएको छ । तर, निगमले नेपालमा भने नबढाएको गोइतले जानकारी दिएका छन् ।