फिचर

१३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार नेपालका लागि ऐतिहासिक सफल दिन सावित भएको छ ।

यस दिन नेपाल एक्लैले कूल १५ स्वर्ण जित्दै कीर्तिमान राखेको हो । सोमबार कूल २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको हो । त्यसमध्ये १५ स्वर्ण जित्दै नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ ।

नेपालका लागि कराँते र तेक्वान्दोबाट ७–७ स्वर्ण पदक प्राप्त भयो । ट्रायथोलनबाट एक स्वर्णसमेत नेपालको भागमा परेको छ ।

यसैगरी कराँतेबाट २ र तेक्वान्दोबाट १ रजत पदक नेपालको पोल्टामा परेको छ । तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक समेत नेपालले जितेको हो ।

नेपाललाई सोमबार सबैरै पहिलो स्वर्ण भने करातेका मण्डेकाजी श्रेष्ठले दिलाएका थिए । पुरुष एकल कातामा नेपालले दुई दशकपछि स्वर्ण जित्न सफल भएको हो । टिम कातामा समेत उनीसहित प्रवीण मानन्धर र महसुस तामाङले स्वर्ण जितेका हुन् ।

उनी १३ औं सागमा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बने । तेक्वान्दोकी आयशा शाक्यका नाममा समेत सोमबार दुई स्वर्ण रह्यो । उनले स्वर्ण दिलाएपछि श्रीमान दिपक विष्टसँग खुसी साटेकी थिइन् ।

त्यससमय उनी भावुकसमेत बनिन् । उनले ११ औं सागमा समेत स्वर्ण जितेकी हुन् । महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको टिमले सोमबार नै स्वर्ण जितेको छ ।

महिला एकल कातातर्फ चञ्चला दनुवारले रजत पदक हात पारिन् । कुमुतेतर्फ सोमबार नेपालले चार स्वर्ण जित्यो । पुरुषतर्फ ५५ केजीमुनी लक्ष्मण तामाङ र ८४ केजीभन्दामाथि विप्लव मान श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन् । महिलातर्फ ४५ केजीमुनी कुशुम खड्का र ५० केजीमुनी अनु अधिकारीले स्वर्ण जितिन् ।
८४ केजी मुनीको प्रतिस्पर्धामा दिवस श्रेष्ठले रजत जिते । सागमा पहिलो पटक पुम्से खेल समावेश गरिएको हो । यस खेलमा समेत नेपाल बलियो देखियो ।

यस खेलमा नेपालले ७ स्वर्ण जित्यो । आयशा शाक्यले एकल र टिमतर्फ स्वर्ण जितेकी हुन् १७ देखि २३ वर्षको समूहमा सीना मादेन, २३ देखि २९ वर्ष समूहमा पार्वती गुरुङले स्वर्ण जितिन् ।

पुरुषतर्फ २३ देखि २९ वर्ष समूहका कमल श्रेष्ठले स्वर्ण हात पारे । पुम्सेको टिमतर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना तथा २३ देखि २९ वर्ष उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले समेत नेपाललाई स्वर्ण पदक जिताए ।
सोमबार भएको क्रिकेटमा नेपालले माल्दिभ्सलाई हराउन सफल भयो ।