स्वास्थ्य

आइसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसीयूबाटै देशबासीका नाममा भिडियो सन्देश प्रवाहित गरेका छन् ।

शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियू कक्षबाट उनले भिडिओ सन्देश सार्वजनिक गरेका हुन् ।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनी आफैले भिडियो सन्देश सार्वजनिक गरेका हुन् ।

उनले अपरेशनपछि स्वास्थ्यमा सुधार भइरहेको र समाचार हेर्न सक्ने भइसकेको उल्लेख गरेका छन् । यस्तो छ उनको भिडियो सन्देश :

एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रूपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो। तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरू देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औँ सागको उद्घाटन समारोह पनि पूरै हेरेँ। हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ। म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरू सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु। मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरू र सार्क क्षेत्रका खेलाडीहरू, सबैलाई आग्रह गर्दछु।