फिचर

आइसिसि उपाध्यक्ष लामालाई बधाई

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन आइसिसि)को नवौं महाधिबेशनमा अमेरिकाबाट केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित सोनाम लामालाई बधाइ तथा सम्मान गरियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका (एनआरएनए अमेरिका) न्यूयोर्क च्याप्टरले गत शनिबार एक बिशेष कार्यक्रम गरी लामालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
आगामी डिसेम्बर ७ तारिकका दिन एनआरएनए अमेरिकाले एनआरएन आइसिसि निर्वाचनमा अमेरिका क्षेत्रबाट निर्वाचित सबै पदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । तर, त्यस अघि नै डिसेम्बर ३ तारिकका दिन उपाध्यक्ष लामा नेपाल जाने कार्यक्रम रहेकाले न्यूयोर्क च्याप्टरले एक अन्तरक्रिया गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेको च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले जानकारी दिए ।
न्यूयोर्कमा बसोबास गर्दै आएका केन्द्रीय उपाध्यक्ष लामा संस्थाकै महत्वपुर्ण कामका लागि नेपाल जाने तयारी भइसकेकाले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना ब्यक्त गरिएको हो । उपाध्यक्ष लामालाई सफल कार्यकालको शुभकामना सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
गत अक्टोबरमा नेपालमा सम्पन्न एनआरएन आसिसिको निर्वाचनमा अमेरिकाबाट उपाध्यक्ष लामा सहित महिला उपाध्यक्ष रबिना थापा, सचिब गौरीराज जोशी साथै अमेरिकाज क्षेत्रको लागी क्षेत्रीय संयोजक राजन त्रिपाठी, सह–संयोजक राम सी पोख्रेल, यूवा संयोजक बिमला सापकोटा, महिला संयोजक उमा कार्की थापा लगायत निर्वाचित भएका थिए । कार्यक्रममा उपाध्यक्ष लामा सहित अनुपस्थित सबै निर्वाचित पदाधिकारीहरुप्रति शुभकामना ब्यक्त गरिएको थियो ।
उपाध्यक्ष लामा धेरै जसो नेपालकै गोरखाको लाप्राक गाउँकै काममा ब्यस्त रहेकाले आइजाई गरिरहेको जानकारी दिएका थिए । अन्तरक्रियामा उपाध्यक्ष लामालाई सहभागीहरुले आफ्ना गुनासो सुनाएका थिए । एनआरएन आइडी कार्ड अहिलेसम्म आइसिसि बाटै बितरण गरिरहेको र त्यो त्यति प्रभावकारी नभएकाले एनआरएनए लाई वितरण गर्न दिदाँ प्रभावकारी बनाउन सकिने सुझाव दिएका थिए ।
‘एनआरएन आइडी कार्ड आइसिसिले बनाएर एनसिसिमा पठाउँथ्यो । महिला उपाध्यक्ष सपिला राजभण्डारी हुँदा ४०÷५० वटा कार्ड आयो । अरुमा फोटो अपलोड भएन, खै के–के मिलेन भनेर त्यतिकै रह्यो’ न्यूयोर्क च्याप्टर अध्यक्ष अधिकारीले भने, ‘नाम, मेम्बरसिप नम्बर र फोटो भए त्यति काम हामी आँफै पनि गर्न सक्छौं, हामीलाई गर्न देऊ भनेका हौं ।’
सहभागीहरुले निर्वाचन प्रणालीलाई चुस्त दुरुस्त बनाउन पनि सुझाब दिएका थिए । उपाध्यक्ष लामाले सहभागीहरु बाट आएका गुनासा र सुझावलाई आइसिसि सम्म पु¥याउने र कार्यान्वय गर्नका लागि आफुले सक्दो प्रयास गर्ने बताए ।

कार्यक्रममा नेपाली महाबाणिज्य दुताबासका कार्यकारी महाबाणिज्यदूत पुष्पराज भट्टराई, एनआरएनए अमेरिकाका उपाध्यक्ष बाबुराम लामा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष मानबहादुर राना मगर, एनआरएनए अभियन्ता संजय थापा, भिजिट नेपाल २०२० का गुड विल एम्बासाडर छिरिङ्ग डोल्मा शेर्पा, युएनएका संथापक अध्यक्ष तथा ब्यवसायी टेक्ससका पासांग लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
एनआरएनए अमेरिकाले आगामी डिसेम्बरमा तीन दिने कार्यक्रम गर्दैछ । बाल्टिमोरमा आयोजना गरिने उक्त कार्यक्रममा ६ तारिक भारतीय राजदूतावासलाई नेपाली भुमि मिचिएको सम्बन्धमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । ७ तारिकमा बिभिन्न एनसिसि, टाक्सफोर्स, च्याप्टरसंग फिजिकल मिटिङ, अमेरिकाज क्षेत्रबाट निर्वाचितलाई सम्मान गरिनेछ । र ८ तारिकमा बोर्ड मिटिङ लगायत बिभिन्न कार्यक्रम गरिने तय भएको छ ।