विश्व

प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले तत्कालका लागि चीन भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अझै अस्थिर छ ।

सोहीकारण आफू तत्काल चीन जान नसक्ने जानकारी नेपालस्थित चिनियाँ राजदूतलाई गराइसकेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँग भेट गरेपछि प्रचण्डले राजदूतलाई उक्त जानकारी गराएका हुन् । यसअघि २४ मंसिरमा प्रचण्ड चीन जाने कार्यक्रम थियो ।

उनी करीव ६ दर्जन नेतासागै लिएर चीन जाने तयारीमा थिए । आगामी दुई वर्ष भित्र नेकपाका सबै नेतालाई चीन भ्रमण गराएर त्यहाको शासन व्यवस्थाबारे जानकारी गराउने योजना चीनको रहेको छ ।

सोही सिलसिलामा पहिलो टोली प्रचण्डको नेतृत्वमा जाने तयारीमा थियो ।

प्रधानमन्त्री बिरामी भई अस्पतालमा रहेका बेला परिस्थिति सम्हाल्नु पर्ने नेता विदेश भ्रमणमा जान नहुने सल्लाह नेकपाकै शीर्ष नेताले दिएका थिए । सोही अनुसार प्रचण्डले चीन जाने योजना स्थगित गरेका हुन् ।