विज्ञान प्रविधि

मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा

सुर्खेत । मौसमी सूचना प्रणालीलाई भरपर्दो बनाउने उद्देश्यले पूर्वाधार थप्ने क्रम जारी छ । यसैक्रममा जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा मौसमी राडार संचलनमा आएको छ ।

उर्जा मन्त्री वर्षमान पुनले मंगलबार उक्त राडार उपकरणको उद्घाटन गरे । मौसम विज्ञान विभागका अनुसार यो राडार मौसमी पूर्व सूचना प्रणालीका लागि नेपालमा जडित अहिले सम्मकै अत्याधुनिक उपकरण हो ।

सुर्खेतको रातानाङ्लामा राडार राखिएको छ । यस राडारबाट मौसमसम्बन्धी यथार्थ सूचना रियल टाइममा प्राप्त हुने बताइएको छ ।

जसका माध्यमबाट हवाई यातायात समेत लाभान्वित हुने भएको छ । वर्षातको सम्भावनाका साथै हरिबतास र आँधीको समेत पूर्वानुमानमा यस उपकरणले सहयोग गर्ने भएको छ ।

राडारले नेपाली आकासको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिच्न सक्छ ।

सोही आधारमा मौसम वैज्ञानिकहरुले विश्लेषण गर्न सक्नेछन् । पछिल्लो समय नेपालमा मौसमको पूर्वानुमान सही हुन थालेको महसुस सर्वसाधारणले गर्दै आएका छन् ।