फिचर

सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रभावशाली प्रदर्शन जारी रहेको छ । मंगलबार मात्र नेपालको पोल्टामा ८ स्वर्ण परेको छ ।

यसअघि सोमबार नेपालले १५ स्वर्ण जिजेको थियो । अब नेपालको कूल स्वर्ण २४ पुगेको छ । यस पटक सागमा नेपालले आफूले जितेका मध्ये सर्वाधिक पदक जित्ने लक्ष्य लिएको छ ।

मंगलबार नेपालका लागि उसुमा २ स्वर्ण पदक जित्यो । विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जितेका छन् ।

तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महरा तथा कराँतेमा नविन रसाइली र सनिता महर्जनले स्वर्ण पदक दिलाएका छन् ।

एथ्लेटिक्समा पनि नेपालले मंगलबार एक स्वर्ण जित्यो । सन्तोषी श्रेष्ठले कीर्तिमान बनाउँदै स्वर्ण जितेकी हुन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले भारतीय खेलाडीभन्दा मात्र एक मिलिसेकेण्डले अगाडी पर्दै स्वर्ण जितिन् ।

उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान बनाएकी हुन् । एथ्लेटिक्सतर्फ पुरुष १५ सय मिटर दौडमा टंक कार्कीको नाममा कास्य पदक रह्यो ।

मंगलबार नै नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जितेको छ । ट्रायथलन तर्फ दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत जितेका छन् ।

यो खेल पोखरामा भइरहेको छ । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत पदक जितेकी छिन् । महिला भलिबलमा नेपालले रजत पदक जितेको छ ।

महिला भलिबलमा पहिलो पटक रजत पदक प्राप्त भएको हो । फाइनलमा नेपाललाई भारतले ३-२ सेटले पराजित गर्यो । फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ।

घरेलु टोली नेपालले पुरुष र महिला दुवैमा जित हात पारेको छ । दशरथ रंगशालमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हरायो ।

नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । मिक्छेन तामाङ र अभिषेक रिजालको नाममा एक\एक होल रह्यो ।

पोखरामा जारी महिला फुटबलमा नेपालले श्रीलंकालाई १-० ले हरायो । क्रिकेटमा भने नेपाल पहिलो खेलमा हारेको छ ।

पुरुषतर्फ श्रीलंका यू–२३ ले नेपाललाई पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टाएको थियो ।