27-Sep-2020 | [nepali_today_date]

आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे

December 4, 2019 ०   बिचार / प्रतिक्रिया


सुपेन्द्र बस्नेत / बोष्टन

आज भन्दा १६ बर्ष अगाडिकाे कुरा हाे । जतिबेला म पश्चिम नेपालकाे कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा सञ्चालित जिडब्लुपी / सेभ द चिल्ड्रेनकाे परियाेजनामा कार्यरत थिए । परियाेजना अन्तरगत हरेक जिल्लामा युनिट कार्यालयहरु र त्यस अन्तर्गत लक्षित समुदायलाई लक्षित गरी ड्रप ईन सेन्टरहरु पनि रहेका थिए र क्षेत्रीय कार्यालय (जाे मेराे मुख्य कार्यथलाे थियाे) नेपालगञ्जमा थियाे।जहाँबाट कार्यक्रमकाे याेजना तर्जुमा, सञ्चालन, अनुगमन, मुल्याङ्कन र पृष्ठपाेषण गरिन्थ्याे । परियाेजना तर्जुमा गरिदा नै तय गरिएकाे एक मुख्य कार्ययाेजना थियाे’ भारतकाे तमिलनाडु राज्यकाे चेन्नाईमा सञ्चालित एउटै प्रकृतिकाे कार्यक्रमकाे अध्ययन अवलाेकन भ्रमण गर्ने र एक आपसमा अनुभव आदान प्रदान गर्ने । साेही मुताविक चेन्नाई सहर स्थित सम्बन्धित संस्थासंग समन्वय गरी कार्यक्रमकाे मिति तय गरीयाे । मलाई भने उक्त भ्रमणमा जाने खास ईच्छा त थिएन तर पदीय जिम्मेवारीका कारण उक्त भ्रमणकाे जिम्मेवारी लिनै पर्ने भयाे र क्षेत्रीय कार्यालय नेपालगञ्जबाट म र निर वाग्ले सर अनी परियाेजनाकाे कार्यक्षेत्र कपिलबस्तुदेखि कञ्चनपुरसम्म कार्यरत १० सहकर्मी सहित १२ जनाकाे टाेली १५ दिनका लागि चेन्नाई भ्रमणमा निस्कियाै । भ्रमणका दाैरानका संझन लायक धेरै महत्वपूर्ण क्षणहरु छन् । तर ति मध्यबाट सुन्दा सामान्य लागे पनि गहिरिएर साेच्दा निकै घत लागेकाे एउटा घटना यहाँ सुनाउने अनुमति चाहन्छु ।

भारतकाे उच्च साक्षरता भएका राज्यहरु मध्य तमिलनाडु एउटा यस्ताे राज्य हाे जसलाई आफ्नाे अस्तित्व र स्वाधिनताकाे सन्दर्भमा निकै अडिक र कठाेर मानिन्छ। तमिलहरु कि त आफ्नाे भाषा बाेल्छन् कि त अंग्रेजी।बुझ्न र बाेल्न सके पनि सम्भव भएसम्म हिन्दी बाेल्दैनन् । याे उनीहरुकाे बर्षाैदेखि चल्दै आएकाे केन्द्रीय सरकारसंगकाे सम्बन्ध र भूमिकाका बिरुद्धकाे सांकेतिक तर खतरनाक लडाई थियाे।भ्रमणकै क्रममा कार्यतालिका अनुसार चेन्नाई सहरकाे बिल्लुपुरममा आफ्नाे संस्था र त्यहाँ सञ्चालित कार्यक्रमका बारे एक आपसमा जानकारी सहित परिचयात्मक कार्यक्रम सकिए पछि त्यहाँ स्थित संस्थाले खाना खाने ब्यवस्था मिलाएकाे थियाे । साेही मुताविक आथित्यता ग्रहण गर्दै खानाका लागि त्यहाँकाे राम्रै हाेटलमा पुगियाे ।तमिलनाडुकाे पहिचान सहित केराकाे पातमा नेपाली खाना भन्दा भिन्न स्वादकाे खाना ईच्छा भाेजन गर्याै । खाना खाइसकेपछि हातमुख चुठ्ने बेलामा एक महिला सहकर्मी साथीले मासुकाे भिन्न स्वादका बारेमा कुरा उठाउनु भयाे।तमिलीपन झल्काउने नरिवल मिसाइएकाे मसलेदार ग्रेभी मासु नेपालीपन र स्वाद भन्दा निकै भिन्न् थियाे नै । यस बिषयमा हात मुख चुठ्न धारामा उपस्थित भएका ४/५ जना सबैले आआफ्नाे प्रतिक्रिया दिदै थिए । यतिकैमा एकजना पुरुष साथीले फ्याट्ट भन्नु भाे ‘त्याे मासु त गाईकाे हाे नि ।त्यही भएर त्यस्ताे स्वाद भएकाे हाे ”

याे वाक्य सुन्ने बितिकै मासुकाे भिन्न स्वादका बारेमा कुरा उठाउने महिला साथीले हातमुख चुठ्न नभ्याउदै भरखरै खाएकाे सम्पूर्ण कुराहरु वान्ता गरी जस्ताकाे तस्तै बाहिर निकाल्नु भयाे।एक छिन निकै तनावपूर्ण अवस्था श्रृजना भयाे । हाम्राे टिमका अन्य साथीहरु, स्वागत् गर्ने संस्थाका प्रतिनिधिहरु र हाेटेवाला पनि त्याे दृश्य देखेर निकै चिन्तित् भए। बास्तवमा के कारणले त्यस्ताे भएकाे हाे भन्ने कुरा हामी ४/५ जना बाहेक अरुकसैले पनि थाहा पाएका थिएनन्। हामीले तत्काल वास्तविक कुरा भनेनाै र भन्ने कुरा पनि भएन।वास्तविकता थाहा नपाउनेहरुले आआफ्नै ढंगबाट घटना घट्नुकाे कारण अनुमान लगाइरहेका थिए र तारन्तार वान्ता गरिरहेकाे देखेर आत्तिरहेका थिए ।अधिकांसकाे खानामा कैफित रहेकाले वान्ता भएकाे अनुमान थियाे । वास्तविकता थाहा पाउनेहरुलाई पनि दृश्य हेर्दा स्वास्थ्यका बारेमा साेच्न बाध्य पार्दै थियाे भने वास्तविकता थाहा नपाउने जाे काेही पेटमा निलेकाे पानी समेत नरहने गरी पिडाबाेध गरी सकसपूर्ण तरिकाले वान्ता गरेर बाहिर निकाल्दै गरेकाे घटनाकाे दृश्य हेर्दा आत्तिनु स्वभाविक नै थियाे। खासमा पुरुष मित्रले खसीकाे मासु भए पनि ति महिला साथीलाई जिस्किएर उक्त कुरा भन्नु भएकाे थियाे ।थाहा पाउनेले साेही रुपमा लिए तर ती महिला साथीले चाही साच्चै ठान्नु भएछ।भिन्न स्वाद,भिन्न परिवेश, भिन्न रहन सहन,भिन्न लवाई खुवाई,भिन्न बाेली चाली,भिन्न रितिरिवाज आदिईत्यादिले पनि त्यहाँकाे बारेमा बास्तबिकता थाहा नपाएकालाई भन्नेले गाईकाे मासु हाे भन्दा सत्य ठान्न मलजल गर्याे। वास्तबमा भगवानकाे प्रतिकका रुपमा निधारमा लामाे राताे टिका लगाउने हिन्दु धर्मावलम्मी तमिलहरु धार्मिक आस्था र विश्वासका आधारमा निकै कट्टर हुन्छन्।यहाँ झण्डै ८८% जनता हिन्दु धर्मावलम्वी रहेका छन्। भगवानप्रति गहिराे आस्था र श्रद्धा भएकाे एक हिन्दु नारी भएका नाताले धर्म बिरुद्ध गाईकाे मासु खाएर निकै ठुलाे पाप गरेकाे मानसिक साेचले मनमा उत्पन्न गरेकाे प्रतिक्रियात्मक परिणाम् थियाे त्याे।तर अरुलाई झट्ट सुन्दा र हेर्दा खाना मन नपरेकाे,स्वादिलाे नभएकाे, खानाकाे अपमान गरेकाे… आदिइत्यादि जस्ताे लाग्न सक्छ।हिन्दु धर्मावलम्वीका लागि ‘गाई’ ईष्ट लक्ष्मीमाता हाे।त्यसैले गाईलाई झुक्किएर लात्ता लाग्दा पनि माफी मागेर ढाेग्ने हिन्दुलाई गाईकाे मासु खाईनुलाई अनर्थ र पाप मानिनु अस्वभाविकै हाेइन।जसबाट हर हिन्दु दिक्षित हुन्छन् नै । बस ब्यवहारमा कसले कति कसरी उतार्छ भन्ने कुरा मात्र हाे । याे घटनाले निकै महत्वपूर्ण पाठ सिकायाे । जाे अहिले पनि बेलाबखत मानसपटलमा ताजा भएर याद आउछ ।याे प्रसंगसंग मिल्दाे जुल्दाे छ, अहिले नेपाली जनताले ब्यक्त गरिरहेकाे प्रतिक्रियाहरुकाे अवस्था।पछिल्लाे समयमा नेपाली जनताले चाहे बुझेर हाेस् या अरुकाे विश्वासमा परेर सरकार,नेताहरु र बिदेशीहरुप्रति वकली रहेका असन्तुष्टिहरु आफ्नाे देशप्रतिकाे आघात प्रेम, आस्था, श्रद्धा र देश भक्तिकाे परिणाम नै हाे ।

चाहे देशीका कारण हाेस् या परदेशीका कारण, दिन प्रतिदिन आफ्नाे देशकाे सुरक्षा, स्वाधिनता,स्वतन्त्रता र उज्वल भविश्यमा पुग्दै गरेकाे ठेश र उठ्दै गएकाे प्रश्नप्रति गरिएकाे गहिराे चिन्ता हाे याे । स्वाधिनताकाे रक्षा र समृद्धिकाे अपेक्षा गर्ने जाे काेही राष्ट्रप्रेमीले चिन्तित भएर प्रतिक्रिया जनाउनुलाई किमार्थ अन्यथा मानिनु हुन्न ।तर असन्तुष्टि पाेख्दा भने त्यसले आफु र आफुले आघात प्रेम गरेकाे देशलाई पर्न सक्ने अल्पकालीन तथा दुरगामी प्रभावहरुका बारेमा गहिराे चिन्तन मनन् गरिनु जरुरी छ । सरकार र नेताहरुले पनि जनताले पाेखिरहेका असन्तुष्टिहरुकाे यथार्थ नबुझी किमार्थ आफु बिरुद्धकाे गतिविधि संझेर बचावट गर्ने,जवाफी कारवाही गर्ने वा बेवास्था गर्ने गर्नु हुदैन । राज्य सञ्चालन गर्नेहरुले परिवर्तनका लागि जनताले पुर्याएकाे याेगदानलाई नजरअन्दाज गर्नु कदाचित हुदैन।वर्तमान पुस्ता र भावी सन्न्ततिकाे उज्वल भविश्यका लागि राज्य सञ्चालक र जनताका बिच देखिएकाे असमझदारीकाे खाडललाई यथासिघ्र मिलेर पुर्नु अपरिहार्य छ ।जसले जनताकाे मनमा रहेकाे देश प्रेम, देश भक्ति,राष्ट्रप्रतिकाे आस्था र श्रद्धा अझ माैलाएर बलियाे बनाउन मलजल गर्न सकाेस्। जाे एक सार्वभाैम राष्ट्रकाे दिर्घायु र समृद्धिकाे लागि अपरिहार्य र अमुल्य पुँजी हाे ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार