बिचार

सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन

– डा. बद्री पोख्रेल
[email protected]

असल र खराव समय, सन्दर्भ, कालक्रम र ठाँउ अनुसार सावित हुन्छ । कुनै कुरा कुनै वेला ठीक भए पनि अर्को सन्दर्भमा वेठीक पनि ठहर्न सक्तछ । कतै हास्नुको महत्व हुन्छ भने कुनै सन्दर्भमा हास्नु अशिष्टता देखाउनु हुन्छ । महत्व नवुझ्दा श्रीखण्ड पनि हसियाको वींड वरावर महत्वहीन हुन पुग्छ भने महत्व वुझेर कामगर्दा पीठोले पनि चामलकै भाउ पाउँन सक्तछ । विवेकसाथ काम गर्नुपर्दछ । यसै सन्दर्भमा यहाँ पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्नेकुरालाई लिएर पुरानो र नयाँवारे छोटो चर्चा वर्ने प्रयास गरिएको छ ।

धेरैले पुराणलाई सांस्कृतिक इतिहास, धर्मको आधार, वेदको व्याख्या र सृष्टिदेखिको संसारको एकमुष्ट इतिहासका रुपमा लिंदै जीवनलाई हरभरा वनाउने प्राचीन शास्त्रका रुपमा मान्ने गर्दछन् । कसैकसैले भने पुराणलाई पुराना कुरा भनेर बुढाबुढीका मनोविनोद, समय कटाउने विद्या, बाहुनवादी आख्यानका रुपमा लिने गर्छन् । मानिसका बुद्धिपिच्छेका सोचहुने भए पनि पुराण पढेपछि मात्र पुराण भित्रका विषयवस्तु थाहा हुन्छ, नभए अन्धोले हात्ती छामे जस्तो मात्र हुन्छ । मानिसको आयु निश्चित हुन्छ । आयु सकिएपछि सबैले मर्नुपर्छ । मर्नु भन्दा अगाडि गरिएका कामबाट मानिसको मूल्यांकन हुनेगर्छ । असल भनेर मूल्यांकन भए नाम रहन्छ, नभए जन्मने र मर्नेहरुको सूचीमा मात्र पर्छ । कीर्तिमानहरुमा गनिंदैन । स्वर्ग र नरकको अस्तित्वमा विश्वास नगर्नेहरु पनि यो मान्यतालाई स्वीकार्दछन् र जीवनमा थाहापाउँने गरेर आपराधिक कामगर्न डराउँछन् । यसैले विद्वान्, बुद्धिजीवी, लेखक, चिन्तकहरुको चिन्तन र मेहनत मानिसलाई सत्कर्मतिर प्रवृत्त गराउँनमा लागेको हुनु पर्दछ ।  

पूर्वीय दर्शन परम्परामा पराणको चर्चा प्रसस्तै हुनेगरेको छ । महापुराणहरु १८ वटा छन् भन्ने मान्यता छ । यसैगरी उपमहापुराण र उपपुराण पनि १८/१८ भएको उल्लेख छ । सवै पुराणका आआफ्नै महत्व छन् । उदाहरणको लागि व्यास–शिष्य जैमिनिले तपस्वी मार्कण्डेयसंग मायाका सम्बन्धमा जिज्ञासा राख्दा द्रोणका पक्षीरूप चार छोराहरूले वताएका महाभारतदेखि मोक्षशास्त्रसम्मका विषयवस्तु समेटिएको मार्कण्डेय भएको पौराणिक इतिहास पाइन्छ । शक्तिको महत्व दर्शिएको मार्कण्डेय पुराणको अनुशीलन देवीको उपासनासंग पनि जोडिन्छ । अधिकांश नेपाली, भारतीय र देवीका उपासक जो सुकैका घरमा नित्यपूजाका अतिरिक्त पनि हरेक चैत्र र आश्विनका नवरात्रमा देवीको सामान्य पूजागर्ने (देवीको नित्यपूजागर्ने, जमरा राखेर देवीको पूजागर्ने, देवीको मन्दिर दर्शनगर्न जाने, देवीका कथा-गाथा सुन्ने, प्रसाद स्वरूप वलिदिने, मासु खाने आदि) देखि विशेषपूजा (नौ दिनसम्म जाग्राम वस्ने, आफ्नै छातीमा जमरा उमार्ने, देवी भागवत, मार्कण्डेय पुराण लगाउने, तीर्थ यात्रामा निस्कने, देवीको नाममा गाईदान, भूमिदान आदि) गर्ने सम्मका काम गरेर परम्परा, संस्कृति, धार्मिक मान्यता पुरागर्ने चलन पनि चलाएको पाइन्छ । किन देवीको पूजा गर्नेदेखि पूजाका प्रकार, विधि र फलका सम्बन्धमा पनि धेरैको जिज्ञासा रहेको देखिन्छ । तिनै जिज्ञासा शान्तगर्न मार्कण्डेय पुराणको श्रवण र अनुशीलन आवश्यक हुन्छ ।

​इतिहास पुराणाभ्यां वेदं समुपवृंहयेत्

​विभेत्यल्पश्रुताद् वेदो मामयं प्रहरेदिति

 

वेदको अर्थलाई इतिहास र पुराणका प्रसङ्गहरूबाट संवर्धन र व्याख्या गर्नु पर्दछ भन्ने मान्यता छ । इतिहास र पुराणका कुरा कम सुनेवुझेका मानिसदेखि वेदको अर्थलाई नै प्रहार (अपव्याख्या) गरिदिने त होइन भनेर वेद स्वयं सशङिकत हुन्छ । त्यसवेलामा वेद–पुरुष (ज्ञानस्वरुप परमेश्वर डराउनु हुन्छ भनिन्छ । यसको आशय के भने इतिहास र पुराणको समेत परिशीलन गरेर वेदको व्याख्यागर्नु पर्दछ । आर्य अर्थात् सनातन धर्मका जन्मदेखि मृत्यु पर्यन्तको संस्कार र मृत्यु पछिका काजक्रिया श्राद्ध एवं तिथिपर्व, मेला, महोत्सव, जात्रा, रितिथिति लगायतका सम्पूर्ण धर्मकर्महरु प्रायः वेदकै पावन मन्त्रद्वारा सम्पन्न गरिन्छन् ।  संस्कार र धर्मकर्मका मूल श्रोत वेद नै हुन् । वेदले सूक्ष्मरुपमा उल्लेखगरेका कुरालाई उपनिषद, पुराण, धर्मशास्त्र, कर्मशास्त्र, नीतिशास्त्र, आचारशास्त्र, व्यवहारशास्त्र आदिले विस्तृत रुपमा वुझाउने गर्दछन् । प्राचीन घटना, विधिविधान, परम्परालाई समाजोपयोगी उदाहरण सहित रोचक रुपमा कथा, उपकथा, आख्यायिका, परिसंवाद आदिका माध्यमले अगाडि राखिदिएर समाजलाई समुन्नत, सभ्य, सुन्दर वनाउँदै आपसी समन्वय, सद्भाव, सहअस्तित्व र समझदारीपूर्ण सहयोग एवं सहजीवनको प्रेरक वनाउने पुराण नै हुन् । पुराण साहित्यलाई विश्वकै उत्कृष्ट सामाजिक, साहित्यिक समुन्नयको दृष्टिले समेत साझा सम्पदा मानिन्छ । ४ वेदका उपवेदहरु अङ्गहरु र उपाङ्गहरु सबैजसोमा कतै न कतै सूत्र रुपमा पुराणका कथा वा सृष्टिका पुरा कथाहरुको प्रसङ्ग पाइन्छ । यसैले वेदका ४ भागहरु मन्त्र, ब्राह्मण, आरण्यक र उपनिषदहरुमा सूक्ष्मरुपमा उल्लेख भएका कतिपय प्रसङ्गहरुलाई नै पुराण र इतिहास ग्रन्थको वीज मानिन्छ ।

ब्राह्मण ग्रन्थमा इतिहास पुराणलाई वेदका अभिन्न अर्थात् वेदकै रुपमा लिएको देखिन्छ । इतिहास र पुराणलाई वेद नै भनिएकोले ‘इतिहास पुराणं च पञ्चमो वेदमुच्यते’ पनि भन्ने गरिन्छ । ऋग्वेदको दशौं मण्डलको ३९औं सूक्तको चारौं मन्त्र ‘युयं च्यवानां’ मन्त्रमा सुकन्या र च्यवनको कथाको संकेतका साथै शुक्ल यजुर्वेदमा देवासुर संग्रामको प्रसङ्ग पहिलो अध्यायको ‘पुरा क्रूरस्य’ भन्ने मन्त्रले ‘देवस्यत्वा र वृत्रतूर्ये प्रोक्षितास्थ कुक्कुतो सि’ आदि अनेकौं मन्त्रले संकेत गरेकोबाट वेदले इतिहास पुराणका कुरा पनि सूत्र रुपमा समेटेकै पाइन्छन् । त्यसैले पनि इतिहास र पुराणद्वारा वेदार्थ विस्तार र व्याख्या थरिएको हो भन्ने तथ्यको पुष्टि हुन्छ । यसक्रममा कृष्णयजुर्वेदको मैत्रायणी संहिताले पुराण र नवशब्दलाई एकै मन्त्रमा समेटेर पुरानो कुरालाई नयाँ कुराको प्रयोगगरी  आदानप्रदान वा अदलवदल गर्दै रहुँ भन्ने सन्देश समेत दिएको देखिन्छ । यसरी पुराणको महत्व भएतापनि –

पुराण मित्येव न साधु सर्वं, नचापि सर्वे नवमित्यवद्यम्

सन्तः परीक्ष्यान्यतरद् भजन्ते मूढाः पर प्रत्ययनेयबुद्धिः ।। भर्तृहरि

 

अर्थात् पुरानो भन्दैमा सवै राम्रो हुन्छ भन्ने हुँदैन । मान्छे बुढो भयो भन्दैमा असलै हुन्छ भन्न मिल्दैन । हो, कैंयौं कुरा पुरानो भएपछि राम्रो हुँदैन । तर, नयाँ भन्दैमा नराम्रो नै हुन्छ भन्ने पनि छैन । यस्ता विषयलाई सन्त र सज्जन मान्छेले परीक्षणको आधारमा मात्रै छुट्याउनु पर्ने हुन्छ ।

श्रीमद्भागत्को चतुर्थस्कन्ध १।४३–४५ अनुसार;  कर्दम र देवहुतीकी छोरी ख्यातिलाई महर्षि भृगुले विवाह गरे । भागवत्कै तृतीयस्कन्ध ३।२४।२३ अनुसार महर्षि भृगुका २ चोरा १ छोरी गरी ३ सन्तान भए । छोराहरु धाता र विधाताले महर्षि मेरुकी छोरीहरु क्रमशः आयाती र नियातीसंग विवाह गरे । आयातीबाट धाताले मृकण्ड नामका पुत्र र विधाताले नियतीबाट प्राण नामका पुत्र जन्माए । भृगुकी छोरी श्री (रमा)ले तपस्यागरी श्रीविष्णुलाई भजेर उनकै पत्नी वनिन् । श्रीले कामदेव नामका छोरा पाइन् । पछिल्लो जन्ममा पनि उनले भगवान् नारायणले जुन अवतार लिए सो वेलामा क्रमशः रामावतारमा सीता र कृष्णावतारमा रुक्मिणी भएर उनकै पत्नी वनिन् । उनै मृकण्डुका पुत्र मार्कण्डेय बालक कालमा नै आयु सकिने थाहा पाएर भगवान् महामृत्युञ्जयका कृपाले चिरञ्जीवी भएका थिए ।

मानिसलाई असल कर्मतिर प्रवृत्त गराउन (क) ऐन कानूनको डर वा (ख) प्रेरक नैतिक प्रसङ्गहरु, असल मान्छेका इतिहास र कर्तव्याकर्तव्यका विषय वुझाउँनु पर्नेहुन्छ । आधुनिक भौतिक हू भन्नेलाई ऐन कानूनको डर देखाएर असत्कार्यतिर नलाग्न सूचित गरी वाध्य वनाइन्छ । नैतिक व्यक्तिलाई नीति, दर्शन र प्रासङ्गिक उदाहरणबाट ठीक बाटामा ल्याउन सकिन्छ । मनुष्यत्व वुझेको मानवलाई धर्म अर्थ काम मोक्ष र कर्तव्याकर्तव्यको उपदेशबाट सामाजिक महत्व वुझाउन सकिन्छ । पहिलो, संगतले व्यक्तिलाई महामानव वनाउन सकिन्छ । संगतको महत्व वुझ्ने वित्तिकै ऊ कहिल्यै पनि असंगत र अकर्तव्यतिर लाग्दैन । अकर्तव्यमा नलाग्नु नै अमरत्व र देवत्वतिरको यात्रा थाल्नु हो । दोश्रो बाटो भनेको पुराणको श्रवण, अनुशीलन र मनन हो ।

अन्तमा, के वुझ्नु बुद्धिमानीु हो भने पराम्परा र शास्त्रीय मर्यादाको पालना त्यसै चलेको होइन, यसका पछाडि वैज्ञानिक, व्यावहारिक, नैतिक आधारहरु हुन्छन् । आधार नवुझिकन लहैलहैमा लागेर परम्परा, विद्या र संस्कार छोड्दा जीवनमै ठूला दुर्घटना हुनसक्ने प्रबल सम्भावना हुन्छ ।

(लेखक जयतु संस्कृतमका अध्यक्ष हुन्)