विश्व

४ बलात्कारीलाई हैदरावाद पुलिसको इन्काउन्टर

हैदरावाद । भारतमा महिला पशु चिकित्सक माथि बलात्कारपछि हत्याको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनालाई गोली प्रहार गरि मारेको छ ।

डाक्टरमाथि बलात्कार गरी उनलाई जिउँदै जलाएर मारेको आरोप उनीहरुमाथि थियो । २६ नोभेम्बर राती घटेको यस घटनामा संलग्नलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो ।

उनीहरुलाई शुक्रबार राती ३ बजेको समयमा हैदराबादको एनएच ४४ हाइवेमा पुर्याएर प्रहरीले गोली हानेको हो । महिला डाक्टरको बलात्कार पछि जलाएको गम्भीर अपराधपछि भारतभर व्यापक प्रदर्शन भएको थियो ।

बलात्कारी आरोपी ४ जनामाथि नै प्रहरीले गोली चलाएर मारेपछि भने भारतमा त्यसको ठूलो समर्थन भएको छ ।

ती डाक्टरका पिता र बहिनीले बलात्कारीको इन्काउन्टरबाट आफ्नो छोरी तथा दिदीले न्याय पाएको बताएको भारतीय संचारमाध्यहरुले जनाएका छन्  ।

२६ नोभेम्बर साँझ ६ बजे स्कूटर पार्क गरी अस्पताल छिरेकी उनी राती ९ बजे घर फर्कर्ने तरखरमा थिइन् । तर, नजिकै ट्रकमा रहेका ५ जनाले उनको स्कुटर पन्चर गराइदिए र बलात्कारको योजना बनाए ।

डाक्टर रातमा एक्दै थिइन्, स्कूटरको टायर पन्चर थियो । उनलाई सहयोगको जरुरत थियो । ती ४ युवालाई उनलाई सहयोग गर्ने आश्वासन दिए । तर, उनी डराएकी थिइन् ।

उनले घरमा बहिनीलाई फोन गरिन र आफू घर नआइपुगेसम्म फोन नकाट्न भनिन् । तर, केही समयमै उनको फोन स्वीच अफ भयो ।

त्यसपछि घर परिवारले प्रहरीलाई खबर गरे । रातभर उनको अत्तोपत्तो लागेन् । बिहान पुलमुनी उनको शव भेटिएको थियो । शवलाई जलाइएको अवस्थामा फेला पारिएको थियो ।

हैदरावादमा भएको यस घटनालाई लिएर भारतभर हरेक दिन प्रदर्शन भएका थिए । चर्को आलोचनाका बीच प्रहरीले आरोपीलाई गोली हानी मारिदिएको हो ।

प्रहरीले भने घटनाबारे विस्तृतमा बताउन घटनास्थलमा लगेको बेला प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि चारै जना प्रहरी कारवाहीमा मारिएको बताएको छ ।

अहिले हैदराबाद पुलिसको बागडोर कमिश्नर भीसी सज्जनारको हातमा छ । उनलाई भारतमा इन्काउन्टर विशेषज्ञ मानिन्छ । उनले यसअघि पनि जघन्य अपराधका आरोपीलाई गोली हानेर मारेको घटना धेरै छन् ।

तेलंगनाको वारंगलमा यसअघि एक कलेज छात्रामाथि एसिड प्रहार भएको घटनाका दोषिलाई समेत उनकै नेतृत्वमा गोली हानी मारिएको थियो ।