समाचार

पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य

काठमाडौं । शनिबार नेपाली फूटबल र क्रिकेटका महत्वपूर्ण खेलहरु सम्पन्न भए । पुरुष फूटबलमा नेपालतर्फ आएको नतिजा पुरुष क्रिकेटमा भने सुखद रहन सकेन ।

नेपाललाई बंगलादेशको २३ वर्षमुनीकै टोलीले हराइदिएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बंगलादेश यू-२३ टोलीले नेपाललाई ४४ रनले हराएको हो ।

हारसँगै नेपाल स्वर्णको दौडबाट बाहिरिएको छ । किनकी यसअघि नेपाल श्रीलंकाको २३ वर्षमुनीको टोलीसँगसमेत हारेको थियो अब नेपालको दौड काश्यमा सिमित भएको छ । शनिबार बंगलादेश  यू-२३  टोलीले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो ।

नेपालले ९ विकेटको क्षतिमा मात्र १११ रन बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लको सर्वाधिक ४३ रनबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् । पारस खड्काले मात्र ९ रन जोडे । बंगलादेशका सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २\२ विकेट लिएका थिए ।

बलिङमा नेपालका लागि पूर्वकप्तान पारस खड्काले ३ विकेट लिएका थिए ।

उता, महिलातर्फ नेपालले काश्य पदक जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकाल्दै काश्य जितेको हो ।

पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई मात्र ८ रनमा अलआउट गर्न सफल भयो ।

नेपालकी अञ्जली चन्दले ४ ओभरमा ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिन सफल भइन् ।

उनी चालु प्रतियोगितामा विश्व कीर्तिमान राख्न सफल खेलाडी हुन । उनले समूह चरणकै खेलमा माल्दिभ्सविरुद्ध नै १३ बलमा कुनै पनि रन खर्च नगरी ६ विकेट लिएकी थिइन् ।

यो महिला क्रिकेटको सर्वाधिक सफल आंकडा हो । ९ रनको लक्ष्य नेपालले भने दोस्रो ओभरमै बीना कुनै विकेटको क्षतिमा भेट्टायो ।