फिचर

साग फूटबलमा भूटानलाई ऐतिहासिक सफलता

काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भूटानी फूटबलले निरन्तर अप्रत्यासित प्रदर्शन गर्यो ।

त्यति मात्र होइन, अब भूटान, त्यो ऐतिहासिक क्षणमा आइसकेको छ, जहा उसले कम्तिमा रजत पदक पक्का गरेको छ । भूटानले जारी प्रतियोगितामा बलिया टोली बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हरायो ।

नेपालसँग भने हार्यो । त्यसका बावजुत भूटान फाइनलमा प्रवेश गरेको छ । सम्भवतः उसको भेट पुनः नेपालसँग हुनेछ ।

किनकी नेपाल फाइनलको निकै नजिक छ । भूटानका लागि सागमा रजत पदक नै ऐतिहासिक सफलता हो ।

शनिबार दशरथ रंशालामा सम्पन्न खेलमा भुटानले श्रीलंकालाई ३–० गोलले हराउन सफल भयो ।

यसअघि भुटानले समूह चरणमा बंगलादेशलाई १–० र माल्दिभ्सलाई २–१ गोलले पराजित गगर्दै फाइनलको आधार तय गरेको थियो ।

नेपालसँग भने भुटान ४–० ले हारेको थियो । सागको इतिहासमा भूटान पहिलो पटक फाइनल खेल्न मैदानमा हुनेछ । सायद यो नतिजा उनीहरु स्वयमले पनि नसोचेको विषय थियो ।

नेपाललाई फाइनल पुग्न आइतबार हुने बंगलादेशसँगको खेलमा कम्तिमा बराबरी भए पुग्छ । बंगलादेश फाइनलमा पुग्न भने नेपाललाई हराउनै पर्छ । यी दुईमध्ये एक टोलीसँग भूटानले पहिलो पटक स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।