समाचार

काठमाडौं उपत्यकामा दिउसो मालबाहक सवारी चलाउन रोक, नाकामै रोकिने

काठमाडौं । नेपाल सरकारले काठमाडौं उपत्यका भित्र सबै प्रकारका मालबाहक सवारी साधनलाई दिउसो चलाउन रोक लगाउने भएको छ ।

अब यस्ता सवारी रातको समयमा मात्र उपत्यका भित्रको सडकमा गुड्न पाउनेछन् । यातायात व्यवस्था विभागका अनुसार असार १ बाट यो नियम लागु हुँदैछ ।

काठमाडौं उपत्यकामा ट्राफिक जाम नियन्त्रण तथा सडक सुरक्षा बढाउन दिनकाृ समयमा मालबाहक सवारी साधनको प्रवेश रोक्ने निर्णय भएको विभागले जानकारी दिएको छ ।

अब यस्ता सवारी उपत्यका प्रवेश गर्ने नाकामै रोकिने छन् । उनीहरुलाई निर्धारित समयमा मात्र प्रवेश दिइनेछ ।

विभागको निर्णयपछि निर्माण सामग्री, खाद्यन्नजस्ता सामग्री बोकेका सवारी साधन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौं उपत्यकाका भित्रि शहरमा गुड्न पाउने छैनन् ।

अत्यावश्यक सेवाका सामग्रीको ढुवानीमा भने रोक लगाइएको छैन । शनिबार र बिदाका दिनमा पनि सवारी संचालनमा रोक छैन ।

काठमाडौं र ललितपुरमा चक्रपथ भित्र, भक्तपुरको भित्रि शहर, चक्रपथ बाहिर काठमाडौं र ललितपुरका चावहिल, जोरपाटी सडक, गोपीकृष्ण, कपन सडक, नारायणगोपाल चोक, बुढानीलकण्ठ सडक, बसुन्धरा क्षेत्र, सामाखुसी ग्राण्डी अस्पताल सडक, वागडोल नख्खु सडक, सातदोबाटो हरिसिद्धि सडक,ग्वार्को चापागाँउमा मालबाहक सवारी साधन चलाउन रोक लगाइएको छ ।