समाचार

अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ

काठमाडौं । भाइबर, इमोजस्ता सामाजिक सञ्जालबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ परेको छ ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुकजस्ता सामाजिक संजालबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो ।

महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका ५२ वर्षिय रमेश खड्का, नवलपरासीका ३७ वर्षिय विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेको प्रहरीले बताएको छ ।

उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले बतायो ।

अनलाइन ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सामाजिक सञ्जाल मार्फत ठगीधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्था समेत ह्याक गरेको अनुसन्धानको निष्कर्ष छ ।

पिटर र स्मिथले नेपालमा ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको र पक्राउ पर्नेहरु उनीहरुको एजेन्ट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

एजेण्टले १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेको खुलेको हो ।

उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकबाट १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरिसकेका थिए ।