समाचार

पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी

काठमाडौं । शक्तिशाली मानिने पश्चिमी वायु नेपाल प्रवेश गरेको छ। यो वायुको प्रभाव अब कम्तिमा ३ दिनसम्म देखिने छ ।

मौसम अदलबदल भई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरिसकेको छ ।

यसले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात बनाउन सक्ने सम्भावना रहेको छ ।

बिहीबार यो प्रणाली अझै सशक्त हुनेछ । जसले गर्दा देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको छ ।

उक्त प्रणालीका कारण देशैभरी मौसम बदली हुनेछ । अधिकतम र न्यूनतम तापक्रममा गिरावट आउनेछ । यसले देशभर चिसो बढाउने भएको छ ।

यस वायुले पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना छ ।

त्यसपछि देशभैभर चिसो ह्वात्तै बढ्नेछ ।

उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

बिहीबार बिहानैदेखि राजधानीको आकास समेत हुस्सले ढाकिसकेको छ ।