विज्ञान प्रविधि

अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा गाडीको एसेम्बल्ड प्लान्ट लगाउने गरी सरकारसँग सम्झौता गरेको छ ।

लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच वुधबार प्रारम्भिक चरणको परियोजना लगानी सम्झौंता (पिआइए)मा हस्ताक्षर भएको छ ।

मोट्रेक्सले एसेम्बल्ड प्लान्ट लगाउन करीव ११ अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने भएको छ ।

लगानी बोर्डका अनुसार कोरियाली कम्पनीलाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ । एसेम्बल्ड प्लान्ट लगाउन मोतिपुर औद्योगिक क्षेत्रमा सय विघा जग्गा कोरियाली कम्पनीलाई दिने भएको छ ।

मोतिपुरको ब्लक ‘बी’मा सय विघा जग्गा यस कम्पनीलाई दिइने भएको हो । जग्गामा एसेम्बल्ड प्लान्ट राखिने भएको छ भने गोदाम भने बुटवल औद्योगिक क्षेत्रमा रहने भएको छ ।

बुटवल औद्योगिक क्षेत्रसँगै जोडिएको मोतिपुर औद्योगिक परियोजना ८ सय १३ रोपनी क्षेत्रफलमा रहने बताइएको छ ।

बोर्डले गत फागुनमा कम्पनीलाई चार पाँग्रे गाडी एसेम्बल्ड गर्न स्वीकृति दिएको थियो। कम्पनीले अबको ४ वर्ष भित्र नेपालमा गाडी तयार पारिसक्ने भएको छ ।

पहिलो वर्ष ५ हजार ८ सय २०, दोस्रो वर्ष ९ हजार ५ सय ३०, तेस्रो वर्ष १५ हजार ८०, चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने कम्पनीले आफ्नो प्रस्तावमा राखेको थियो ।