रोचक खवर

तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले शुक्रबार मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

बस्नेतले कमाएको पैसा आफू र आफ्ना परिवारको नाममा राख्ने गरेका थिए । २०४५ सालमा लेखापालको रुपमा उनी सरकारी सेवा छिरेका थिए ।

त्यसयता उनको वैधानिक कमाई १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँ ८२ पैसा मात्र रहेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

उनको नाममा भने वैधानिक आम्दानीबाहेक नै १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा खर्च र बचत देखिएपछि अख्तियारले मुद्दा चलाएको हो ।

उनले भन्सार नाकाबाट नेपाल आयात हुने सामानको भन्सार पास गर्ने बेला व्यापारी, क्यारिङ्ग व्यवसायी र भन्सार एजेन्टसँग गैरकानूनी रुपमा रकम बुझ्ने गरेका थिए ।

बस्नेतले लिने घुस बुझ्ने काम भने संखुवासभाको खाँदबारी–१ बस्ने जेठान नबिनकुमार गौलीबाट हुने गरेको अख्तियारले उल्लेख गरेको छ ।

ज्वाइँले लिएको घुस जेठानको नाममा जमिन तथा घरमा लगानी भएको पाइएको छ । त्यसपछि भने जेठानबाट बक्सिस पाएको भन्दै आफ्नो नाममा गराउने धन्दा उनको थियो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो तथा बिगोअनुसार जरिवाना, २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरेको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

जेठान नबिन कुमार गौलीको हकमा भने ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ बिगो तथा २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबीसहित  मुद्दा दर्ता भएको छ ।