समाचार

सोलुखुम्बुमा विप्लव त्रास, सुरक्षा निकायमा आक्रमण गर्ने नीति नभएको विप्लव प्रवक्ताको स्पष्टिकरण

काठमाडौं । आइतबार राती सोलुखुम्बुको विकट गाउँमा सरकारद्धारा प्रतिवन्धित नेकपा विप्लव समुहले प्रहरी चौकी आक्रमण गरेको समाचारले दिनभर नेपालमा चर्चा पायो ।

विप्लवका कार्यक्रताले सोलुको महाकुलुङ गाउँपालिकास्थित छेक्कामा प्रहरी चौकि आक्रमणको प्रयास गरेको प्रहरी स्रोतको भनाई छ । आक्रमणको सूचना पाएलगत्तै उक्त प्रहरी चौकिका सुरक्षाकर्मी भने अन्यत्रै भागेको बताइएको छ ।

हतियारधारी समूह गाउँ पसेको खबर पाएलगत्तै प्रहरी चौकी खाली गराइएको प्रहरी स्रोतको भनाई छ । सोमबार सोलुमा विप्लवको गतिविधि बढेको खबर आउनासाथ काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा राखेर थप सुरक्षाकर्मी त्यहा परिचालन गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमा ५० जना थप सुरक्षाकर्मी उक्त गाउँपालिका पठाइएको हो । घटना सार्वजनिक भएलगत्तै गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार दिउँसो सबै सुरक्षा निकायका प्रमुखबाट ब्रिफ्रिङ लिएका छन् ।

गृह स्रोतका अनुसार उक्त गाउँपालिकामा हतियारधारी समूहले प्रहरी चौकिमा आक्रमण गर्ने सूचना पाएपछि सुरक्षाकर्मी अन्यत्रै गएको जानकारी गृह मन्त्रीलाई दिइएको छ ।
यसैबीच विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले सोमबार नै विज्ञप्ती जारी गरी सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको र सरकारले नियोजित हल्ला फैलाएको दावि गरेको छ ।

आफ्नो कार्यक्रताले सोलुखुम्बुमा प्रहरी चौकि आक्रमण गरेको खबरको खण्डन गर्दै समूहले यसलाई फेक न्यूजको संज्ञा दिएको छ ।