समाचार

एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु भएको छ । संयोगवशः अघिल्लो वर्ष पनि २९ मंसिरमै स्थायी समिति बैठक बसेको थियो । त्यसपछि एक वर्षसम्म बैठक बसेन् ।

सामान्यतया हरेक तीन महिनामा बैठक बस्नुपर्छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले गतवर्ष बैठक बसेकै दिन बैठक जुध्नु संयोग भएको बताएका थिए ।

एक वर्षसम्म बैठक नबस्दा सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको धारणा प्रचण्डले राखेका थिए ।

यसमा गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा निर्धारित समयमै स्थायी समिति बैठक बस्ने उनको प्रतिवद्धता थियो ।

बैठकमा भीम रावललगायत नेताहरुले बैठक बस्न ढिला गर्नुको कारण माग गरेका थिए । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

पार्टीको विधानमा उपाध्यक्ष राख्ने गरी विधान तयार पारिएको छ। खासगरी बामदेव गौतमलाई उपाध्यक्षमा ल्याउने तयारी भएको छ ।

सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो। सचिवालयको प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गरेमा उनी उपाध्यक्ष् हुने छन् ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । स्थायी समिति बैठक अगाडी बालुवाटारमा सचिवालय बैठक बसेको थियो।

त्यसमा भने प्रधानमन्त्री उपस्थित भएका थिए । प्रधानमन्त्री अहिले अस्वस्थताका कारण आराम गरिरहेका छन् ।

स्थायी समिति बैठकमा चुनावी समिक्षा समेत भएको छ । नेताहरुले अघिल्लो चुनावमा जितेका क्षेत्र गुमाउनु पार्टीका लागि ठूलो क्षति भएको उल्लेख गरेका थिए ।