समाचार

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

काठमाडौं । प्रदेश गठन भई संचालनमा आएको दुई वर्ष पुगिसकेको छ । तर, नेपालका महत्वपूर्ण प्रदेशहरुले नै अझै राजधानी र नामको टुंगो लगाएका छैनन् ।

यता, प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठन गरेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ ।

तर, स्थायी राजधानीमा समेत समिति समेत अन्यौलमा रहेको छ । समितिले रुपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ (लमही)लाई स्थायी राजधानी बनाउन सकिने प्रस्ताव गरेको हो ।

यसले प्रदेशमा द्धन्द्ध निम्तने खतरा अझ बढेको छ । नाममा भने त्यति धेरै असहमति छैन । किनकी लुम्बिनीअन्तरर्राष्ट्रिय ब्राण्ड समेत हो ।

जसले गर्दा यस विषयमा कसैलाई आपत्ति छैन । तर, राजधानीका विषयमा भने यहाँ लामो समय देखि विवाद छ ।

खासगरी ठूला र प्रभावशाली नेताहरुबीच नै प्रदेश राजधानीको खिचातानी जारी रहेको छ ।

मूख्यमन्त्री शंकर पोखरेलको इच्चा दाङ र नेकपाका महासचिव विष्णु पौडेलको इच्छा बुटवल हुँदा यहाँ अझ विवाद बढ्ने निश्चित रहेको छ ।

प्रदेश ५ को अस्थायी राजधानी भने रुपन्देहीको बुटवल तोकिएर काम भइरहेको छ । विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुनेछ ।

त्यहाँबाट राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था अनुसार निर्णय हुनेछ ।