समाचार

मौसममा क्रमिक सुधार

काठमाडौं । पछिल्लो एक साता बिग्रिएको मौसममा अब क्रमशः सुधार आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने गरी आएको पश्चिमी वायुको प्रभाव अब क्रमशः नेपालबाट हट्ने क्रममा रहेको छ ।

सोमबारदेखि देशभर नै मौसम सफा हुन थाल्ने भएको छ । पश्चिमबाट प्रवेश गरेको यस्तो वायु पूर्वबाट नेपाल बाहिरन्छ ।

पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारयता देशभर मौसम अदल बदल भएको थियो ।

जसले गर्दा अधिकांश स्थानमा वर्षा भएको थियो भने उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित भएको थियो ।

सोमबारबाट अधिकांश स्थानमा घाम लागेपनि चिसोको प्रभाव भने जारी नै रहने छ । तर, अब वर्षाको सम्भावना भने तत्कालका लागि टरेको महाशाखाको भनाई छ ।