फिचर

५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च

काठमाडौं । आर्थिक वर्षको मध्यसमय बितिसकेको छ । तर, देशको पूँजिगत खर्च भने अझै पनि खराब अवस्थामा रहेको छ । अर्थमन्त्री युवराज खतिवडा देशको आर्थिक अवस्था निकै सुधार भएको बताउँछन् ।

तर, विकास निर्माणको मानक भने निकै खस्किएको देखिएको छ । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो ५ महिना (साउन–मंसिर)मा पूँजीगत खर्च ९.०५ प्रतिशत मात्र भएको छ ।

यो तथ्यांक दयनीय हो । किनकी यस समय भित्र आइपुग्दा पूँजिगत खर्च मात्र निकै प्रगति भइसक्नु पर्ने थियो ।

पहिलो चौमासिकमा पूँजीगत बजेट खर्च भएपछि प्रधानमन्त्री स्वयमले सरोकारवालालाई बोलाएर निर्देशन दिनु परेको थियो ।

उनले दोस्रो चौमासिकसम्म ५० प्रतिशत पुर्याउन निर्देशन दिएका थिए । तर, यही गतिमा पूँजिगत खर्च हुने हो भने त्यो लक्ष्य निकै पर देखिन्छ ।

चालु आवमा सरकारले कूल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये पूँजीगत खर्च ४ खर्ब ८ अर्ब रुपैयाँ गर्नुपर्छ ।

पहिलो ५ महिनामा भने मात्र ३७ अर्ब ४८ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । यस अवधिमा कूल १९.४८ प्रतिशत बजेट खर्च भएको देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार कूल २ खर्ब ९८ अर्ब ५७ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

त्यसमध्ये चालु खर्च २ खर्ब ४६ अर्ब ९२ करोड रुपैयाँ छ ।

पूँजीगत खर्च ३७ अर्ब ४८ करोड र वित्तीय व्यवस्थापनमा १४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ । ५ महिनामा राजस्व संकलन ३ खर्ब ८ अर्ब रुपैयाँ संकलन भएको छ ।

यस वर्ष सरकारले कूल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।