फिचर

महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा

प्रभात भट्टराई/अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति सूचीमा समावेश हुन अब ६७ भोटले मात्र टाढा छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा उनको महाभियोग विरुद्ध मतदान हुन अझै पनि बाँकी छ । संभवतः बुधबार उनलाई हाउसले महाभियोग लगाउने छ ।

तर, हाउसमा उनलाई महाभियोग लगाउन चाहिने मत पुगि सकेको हुँदा अब मुद्दा सिनेटमा कसरी अघि बढ्ला भन्नेमा सबैको चासो केन्द्रित भएको छ । हाउस डेमोक्र्याटहरुले सुरु गरेको महाभियोग तल्लो सदनबाट पारित हुन २१८ मत आवश्यक पर्छ । तर, त्यो भन्दा बढि संख्याका सभासदहरुले महाभियोगको पक्षमा मतदान गर्ने सार्वजनिक वक्तव्य दिइ सकेका छन् । मिचिगन, पेन्सिलभेनिया जस्ता राज्यका केही ‘स्विङ’ निर्वाचन क्षेत्रका सभासदहरुले पनि अन्त्यमा महाभियोगको पक्षमा मत दिने निर्णय गरेका छन् ।

२०१६ मा ट्रम्पले जितेको क्षेत्रबाट निर्वाचित न्यूजर्सीका डेमोक्रेटिक सभासद जेफ भान ड्रु भने महाभियोगलाई सहयोग गर्नुको साटो पार्टी छोड्ने निश्कर्षमा पुगेका छन् । उनी सुरु देखिनै महाभियोगको विपक्षमा थिए । तर, उनको क्षेत्रका डेमोक्रेटिक कार्यकर्ताले प्राइमरी चुनावमै हराउने संकेत बुझेपछि ड्रु ट्रम्पलाई भेट्न पुगेका थिए । ट्रम्पले २०२० मा रिपब्लिकन पार्टीबाट टिकट दिलाउने र जिताउने आश्वासन दिएसँगै उनी पार्टी बदल्ने निचोडमा पुगेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । तर, ट्रम्पले देखाएजति सजिलै उनको हातमा लड्डु पर्ने संभावना भने नभएको विश्लेषकहरुको मत छ । किनभने उनको ट्र्याक रेकर्डका कारण निर्वाचन क्षेत्रका रिपब्लिकनहरु उनीसँग खुसी छैनन् । त्यसैले प्राइमरी चुनावमा बिना चुनौती उनलाई बाटो खाली गरिदिने सम्भावना नरहेको विश्लेषकहरुको मत छ । ड्रुले दल बदलको तयारी गरेको खवर सार्वजनिक भएसँगै उनका पाँच जना स्टाफले सामुहिक राजिनामा दिँदै विरोध जनाएका छन् ।

यसअघि ट्रम्प महाभियोगको पक्षमा उभिएका रिपब्लिकन सभासद जष्टिन अमासले पार्टी भित्रको तीब्र आक्रमण सहन नसकेपछि दल त्यागेका थिए । उनी अहिले स्वतन्त्र सभासदको रुपमा रहेका छन् । दुबै पार्टीबाट एक–एक जना बाहिरिए पनि यसपटकको महाभियोगमा पार्टीगत विचार अत्यधिक हावी देखिएको छ । दुबै पार्टीका लगभग शतप्रतिशत सभासद आ–आफ्नो नेतृत्वप्रति सहमत छन् । जबकी सन् १९९८ मा विल क्लिन्टनमाथिको महाभियोगमा झन्डै डेढ दर्जन सभासद्ले फ्लोर क्रस गरेका थिए । त्यसबेला एक दर्जन रिपब्लिकन सभासदले महाभियोगका विपक्षमा मतदान गरेका थिए भने पाँच जना डेमोक्र्याट सभासदले क्लिन्टन महाभियोगलाई सदर गरेका थिए ।

कालान्तरमा ती पाँचमध्ये तीन डेमोक्रेटिक सभासद रिपब्लिकन पार्टीमा छिरे । तर, अहिलेजस्तो तात्तातो निर्णय त्यसबेला भएको थिएन । अहिले बिषेशगरि रिपब्लिकन पार्टीमा ट्रम्पसँग असहमत हुनेले कि दल त्याग्नु पर्छ कि ‘आइडल’ बस्न तयार हुनु पर्छ । डेमोक्र्याटमा भने त्यो स्तरको दबाब र आक्रमण देखिएको छैन । तर, नेतृत्वबाट चर्को दबाब नभएपनि अत्यधिक विभाजित भइ सकेका कार्यकर्ताहरु पार्टी लाइनसँग असहमत नेतालाई स्विकार्ने पक्षमा देखिँदैनन् ।

अहिले पनि मत सर्भेक्षणहरुमा ट्रम्पलाई महाभियोग लगाएर हटाउने पक्षमा बलियो समर्थन देखिन्छ । प्रो ट्रम्प भनेर चिनिने फक्स न्यूजको हालै प्रकाशित सर्भेक्षण अनुसार ५० प्रतिशत अमेरिकी ट्रम्पलाई महाभियोग लगाएर पदमुक्त गर्ने पक्षमा छन् । साथै महाभियोग लगाउने तर पदमुक्त नगर्ने पक्षमा भने थप चार प्रतिशत अमेरिकी रजिष्टर्ड भोटर्स रहेका छन् । त्यति हुँदा पनि सिनेटमा बहुमत रहेको रिपब्लिकन नेतृत्व जसरी पनि यो प्रकरणलाई तुहाउने पक्षमा छन् । सिनेट रिपब्लिकन नेता मिच म्याकोनेलले महाभियोग कसरी अघि बढाउने भन्ने बारे आफुले ह्वाइट हाउसका वकिलहरुसँग नितन्तर परामर्श गरि रहेको बताएका छन् । जसमाथि अनुसन्धान गर्नु पर्ने हो उसैसँग परामर्श गर्ने वित्तिकै सिनेटमा स्वतन्त्र सुनुवाई एवं बहसको संभावना नरहेको विश्लेषकहरुको मत छ ।

यस्तै सिनेटको न्यायीक समितिका सभापति एवं ट्रम्पका कट्टर समर्थ लिन्जी ग्राहमले ‘आफुले मानसिकता तयार गरि सकेको र महाभियोगलाई जतिसक्दो चाँडो अन्त्य गर्नेमै आफ्नो ध्यान रहेको’ बयान दिएका छन् । हाउसबाट पारित भएको महाभियोग मुद्दालाई सिनेटमा अघि बढाउनु पर्ने प्रमुख दुई व्यक्ति नै ‘अभियुक्त’ बचाउमा ओर्लिनु उनीहरुले जनताका नाममा खाएको सपथकै उल्लंघन हुने डेमोक्र्याटहरुले आरोप लगाएका छन् ।

सिनेट डेमोक्रेटिक नेता चक स्हुमरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै ट्रम्पका चिफ अफ स्टाफ मिक मुल्भेनी लगायतका साक्षीलाई बोलाएर बयान लिनु पर्ने बताएका छन् । रिपब्लिकन नेतृत्वले राम्रोसँग बहस हुन नदिइ महाभियोग मुद्दा ढिसमिस गरे सन् २०२० को चुनावमा डेमोक्र्याटहरुले त्यसलाई ठूलो मुद्दा बनाउनेछन् । हाउसले अभियोग लगाइसकेपछि त्यसमाथि गम्भिर अनुसन्धान नगर्नु संविधान र कानूनकै उल्लंघन हुने उनीहरुको मत रहँदै आएको छ ।

सिनेटमा ट्रम्प महाभियोगका पक्षमा ६७ मत परेमा उनी पदमुक्त हुनेछन् । त्यसका लागि २० जना रिपब्लिकन सिनेटरले फ्लोर क्रस गर्नुपर्ने हुन्छ । अहिले सिनेटमा ४७ डेमोक्रेटिक सिनेटर छन् । यदि २० जना रिपब्लिकन सिनेटरले फ्लोर क्रस गरेमा महाभियोग मार्फत पदमुक्त हुने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् । अहिले उनी हाउसका न्यायीक समितिबाट महाभियोग लाग्ने चौथो राष्ट्रपतिको रुपमा दर्ज भइ सकेका छन् । उनी अघि एन्ड्रु जोन्सन, रिचर्ड निक्सन र विल क्लिन्टनलाई समितिबाट महाभियोग पारित भएको थियो । उनीहरुमध्ये निक्सनले फुल हाउसको मतदान अघिनै राजिनामा दिएर बाटो खाली गरि दिएका थिए । जोन्सन र क्लिन्टन बिरुद्धको महाभियोग फुल हाउसबाट पनि पारित भएको थियो । जोन्सन एक मतले सिनेटबाट महाभियोग लागेर पदमुक्त हुनबाट जोखिएका थिए । क्लिन्टनलाई पदमुक्त गर्ने पक्षमा भने ५०–५० मत भएको थियो ।