डायस्पोरा

यूरोपमा नेपालको सेल्स मिशन

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको प्रवद्र्धन गर्न यूरोपमा “नेपाल सेल्स मिशन यूरोप २०१९” सम्पन्न गरेको छ ।

बोर्डका अनुसार वारसामा मे २७ मा, भियानामा मे २९ र म्यूनिखमा मे ३१ मा यो कार्यक्रम सम्पन्न भएको छ । सेल्स मिशनमा दुई नेपाली ट्राभल कम्पनी द एक्सप्लोर नेपाल र इन्टरटु्र्स नेपालले भाग लिएका थिए ।

सेल्स मिसनको उद्देश्य नेपाली व्यवसायीले यूरोपेली समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध बिस्तार र व्यवसाय वृद्धि गरी नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने रहेको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक दिवाकर बिक्रम राणाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतीकरण दिएका थिए । जसमा नेपालका विभिन्न पर्यटकीय आकर्षण समावेस गरिएको बोर्डले उल्लेख गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमसमेत सहभागी थिए । सहभागीले नेपाल भ्रमण वर्ष २०२० लाई लिएर अभियानका बारेमा सोधखोज गरेका थिए ।

जर्मनीका लागि नेपाली महामहिम राजदूत रमेशप्रसाद खनालले यस किसिमको सेल्स मिसनले यूरोपका पर्यटन व्यवसायीहरुसँग सम्बन्धमा घनिष्टता ल्याई नेपाली बजार बलियो र बिस्तार गरिने बताए ।

नेपाल पर्यटन बोर्डद्वारा सेल्स मिशनमा सहभागी मध्येबाट हरेक शहरमा २ जना विजेतालाई नेपाल भ्रमण प्याकेज प्रायोजन गरिएको थियो ।

२०१८ मा अन्तराष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर दश लाखको संख्या हाशिल भएको थियो ।

हालको वृद्धिदर र अन्तराष्ट्रिय प्रवद्र्धनले पर्यटनको सकारात्मक प्रवृत्तिलाई इङ्गित गर्ने बोर्डले उल्लेख गरेको छ ।